झापा–५ मा बालेनको ९ प्रतिबद्धतासहित वाचापत्र सार्वजनिक

काठमाडौँ ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले सोमबार आफ्नो चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका उनले ९ बुँदे मुख्य प्रतिबद्धतासहित मतदातामाझ आफूलाई प्रस्तुत गरेका हुन्।
सार्वजनिक वाचापत्रमा ‘थिति बसाल्ने संकल्प’ कार्यान्वयनको नेतृत्व लिने दाबी गर्दै उनले सुशासन, पारदर्शिता र जवाफदेहिता स्थापित गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत अधिकार सबै नागरिकसम्म व्यवहारमा पुर्‍याउन आवश्यक कानुन निर्माण, पर्याप्त बजेट विनियोजन र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उनको भनाइ छ।
उनले राष्ट्रहितविपरीत कुनै पनि सम्झौता नगर्ने अडान दोहोर्‍याउँदै सार्वजनिक सेवालाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन संसद्मार्फत प्रभावकारी भूमिका खेल्ने उल्लेख गरेका छन्। विकास निर्माणसँगै प्रकृति संरक्षणलाई सन्तुलित रूपमा अघि बढाउने, वातावरणीय क्षतिलाई न्यून गर्ने र दिगो विकासलाई प्राथमिकता दिने उनको योजना छ।
झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय समस्या, सुझाव र सरोकारलाई नियमित रूपमा संघीय संसद्सम्म पुर्‍याउने व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। साथै राजनीतिलाई पेसा नभई सेवा बनाउने, स्वच्छ र उत्तरदायी राजनीतिक अभ्यासको नमूना प्रस्तुत गर्ने उनको दाबी छ।
बालेनको वाचापत्र सार्वजनिक भएसँगै झापा–५ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *