काठमाडौं
सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट लाई नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उक्त पदमा तोकेको हो।
डा. भट्टले एक दशकभन्दा बढी समय न्याय सेवाअन्तर्गत सरकारी वकिलका रूपमा काम गरेको अनुभव राख्नुहुन्छ। कानुनी क्षेत्रको लामो अनुभव र विशेषज्ञताका आधारमा उहाँलाई उपभोक्ता अदालतको नेतृत्व जिम्मेवारी दिइएको जनाइएको छ।
उहाँले त्रिभुवन विश्वविद्यालय बाट कानून विषयमा स्नातकोत्तर (एलएलएम) उपाधि हासिल गर्नुभएको छ। साथै हङकङ विश्वविद्यालय, हङकङबाट अन्तर्राष्ट्रिय कानून र मानवअधिकार विषयमा अध्ययन गर्नुभएको छ।
सरकारले उपभोक्ताको हकहित संरक्षण तथा बजार अनुगमनसम्बन्धी मुद्दाको प्रभावकारी सुनुवाइका लागि उपभोक्ता अदालतलाई सुदृढ बनाउने उद्देश्यका साथ नेतृत्व चयन गरेको जनाएको छ।
