ईरानका सर्वोच्च नेता आयातुल्लाह अली ख़ामेनेई को मृत्यु भएको ईरानी सरकारी टेलिभिजनले पुष्टि गरेको छ। सरकारी प्रसारणमा समाचार वाचकले भावुक हुँदै उनको निधनको घोषणा गरेका थिए। साथै देशभर ४० दिनको राष्ट्रिय शोक मनाइने घोषणा गरिएको छ।
शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न शहरहरूमा व्यापक हवाई तथा मिसाइल आक्रमण गरेका थिए। ती आक्रमणपछि खामेनेई गम्भीर रूपमा घाइते भएको प्रारम्भिक रिपोर्टहरू सार्वजनिक भएका थिए। त्यसको केही घण्टापछि उनको मृत्यु भएको पुष्टि गरिएको हो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मार्फत खामेनेईको मृत्यु भएको दाबी गरेका थिए। उनले उक्त सैन्य कारबाहीलाई रणनीतिक सफलता भनेका थिए।
प्रारम्भिक केही घण्टासम्म इरानी अधिकारीहरूबाट स्पष्ट प्रतिक्रिया नआएकाले स्थिति अन्योलपूर्ण बनेको थियो। केही सञ्चार माध्यमहरूले खामेनेई सुरक्षित रहेको दाबी पनि गरेका थिए। तर पछि सरकारी टेलिभिजनमार्फत औपचारिक पुष्टि भएपछि घटनाले विश्व राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरेको छ।
खामेनेई सन् १९८९ देखि इरानका सर्वोच्च नेता रहँदै आएका थिए। उनको निधनसँगै इरानको नेतृत्व संरचना, क्षेत्रीय शक्ति सन्तुलन र मध्यपूर्वको सुरक्षा अवस्थाबारे नयाँ प्रश्नहरू उठ्न थालेका छन्। अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ ।
