काठमाडौंमा अन्ध्यारो भयो, देशका धेरै स्थानमा वर्षा, असिनासहित मेघगर्जन



काठमाडौं ।

देशका विभिन्न भागमा आज (शुक्रबार) अपराह्नदेखि मौसम एक्कासी बदलिएसँगै वर्षा सुरु भएको छ । राजधानी काठमाडौंसहित पहाडी र तराईका धेरै स्थानमा पानी परिरहेको छ।
शुक्रबार दिउँसो करिब पौने ४ बजेतिर काठमाडौंमा बादलले एक्कासी आकाश ढाकेको थियो । केही समयमै अन्धकारजस्तै अवस्था बनेपछि मेघगर्जनसहित पानी पर्न थालेको हो । काठमाडौंका विभिन्न क्षेत्रमा असिनासहित पानी परेको स्थानीयले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै स्थानमा बदली रहने र केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ �। विभागले विशेष गरी पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा असिनापानी पर्ने सम्भावना पनि रहेको जनाएको छ।
मौसम एक्कासी बदलिएपछि काठमाडौं उपत्यकामा दिउँसो नै अन्धकारजस्तै देखिएको थियो । सवारी साधनले हेडलाइट बालेर चल्नुपर्ने अवस्था देखिएको छ भने सडकमा हिँड्ने सर्वसाधारणलाई पनि वर्षाले प्रभावित पारेको छ।
यस्तै, देशका अन्य भागहरूमा पनि पानी परिरहेको जानकारी आएको छ । पश्चिम र मध्य पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसममा आएको यो परिवर्तन पश्चिमी वायु प्रणालीको प्रभावका कारण भएको जनाइएको छ ।
मौसम विभागले अझै केही समय देशका धेरै स्थानमा बदली रहने र वर्षा हुने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। विशेष गरी चट्याङ, असिना र हावाहुरीबाट सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *