काठमाडौं । डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा करिब १३ प्रतिशत गिरावट आएको छ।
ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको बताउँदै पाँच दिनका लागि इरानमाथि कुनै पनि सैन्य आक्रमण नगर्ने बताएका थिए।
उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा सबै ठूला अक्षरमा लेखिएको पोस्टमार्फत अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा मध्यपूर्वमा रहेका द्वन्द्वको पूर्ण समाधानका विषयमा सकारात्मक र फलदायी कुराकानी भएको बताएका हुन्।
ट्रम्पले पोस्टमा लेखेका छन्, अमेरिका र इरानबीच जारी गहन, विस्तृत र रचनात्मक वार्ताको आधारमा उनले युद्ध विभागलाई इरानी ऊर्जा केन्द्र र ऊर्जा पूर्वाधारमाथि हुने सबै प्रकारका सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन्।
उनले आगामी दिनहरूमा वार्ता सफल हुने अपेक्षा व्यक्त गर्दै यो निर्णय लिइएको पनि बताएका छन्।
ट्रम्पको उक्त बयानपछि विश्व बजारमा तेल आपूर्तिमा तत्काल जोखिम कम हुने अनुमान गर्दै कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ट्रम्पको बयानपछि कच्चा तेलको मूल्य १३ प्रतिशत घट्यो