सिरहामा मानव बेचबिखन र यौनधन्दा प्रकरण : होटल सञ्चालकसहित ८ जना पक्राउ


सिरहा जिल्लामा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र यौनधन्दामा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ।
जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पहिलो घटना लहान नगरपालिका–८ को हो।
सो स्थानमा बस्ने दिलीप साह र उनकी श्रीमती सुनिता साहले तीन जना महिलालाई फोनमार्फत सम्पर्क गरी आफ्नै घरमा बोलाएर आर्थिक प्रलोभनमा पारी यौनधन्दामा लगाएको आरोपमा पक्राउ गरिएको छ। उनीहरूलाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी दोस्रो घटना लहान–३ स्थित अस्पताल चोकमा रहेको ‘अनलाइन होटल एण्ड लज’मा भएको हो। होटल सञ्चालिका ४० वर्षीया अर्चना कुमारी चौधरीले चार जना महिलालाई होटलमा बोलाएर सप्तरीको सुरुङ्गा–९ टिकुलियाका २१ वर्षीय अशोक कुमार चौधरी, २० वर्षीय नितिक कुमार चौधरी र १९ वर्षीय आकाश चौधरीसँग मिलेर यौनधन्दामा लगाएको आरोपमा पक्राउ गरिएको छ।
उक्त घटनामा संलग्न चारै जनालाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *