धनुषाको मिथिला नपामा चितुवा

धनुषा । मिथिला नगरपालिका मा आज बिहान चितुवा देखा परेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ।
पालिकाको वडा नम्बर ७ एकलेबर टोल निवासी विक्रम थिङको घर अगाडि आज बिहान करिब १० बजेतिर चितुवा देखिएको स्थानीयले बताएका छन्। उक्त घटनाबारे वडा नम्बर ७ का वडा अध्यक्ष राम स्याङ्दयाल ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरेका छन्।
स्थानीयका अनुसार चितुवा बस्ती नजिकै देखिएपछि सर्वसाधारण त्रसित भएका छन्। यद्यपि हालसम्म कुनै मानवीय क्षति वा आक्रमण भएको छैन। चितुवा देखिएको जानकारी स्थानीय प्रहरीले सम्बन्धित निकायमा गराइसकेको बताइएको छ।
घटनाबारे जिल्ला वन कार्यालय धनुषा र स्थानीय प्रहरी चौकीलाई जानकारी गराइसकिएको छ। सम्बन्धित निकायबाट टोली घटनास्थलतर्फ जाने तयारी भइरहेको जनाइएको छ।


स्थानीय बासिन्दाका अनुसार वन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर जङ्गल क्षेत्रमा फिर्ता पठाउने योजना बनाएको छ। चितुवा बस्ती नजिकै देखिएपछि अहिले सो क्षेत्रका बासिन्दा सतर्क अवस्थामा रहेका छन्।
यस घटनापछि नगरपालिकाले पनि स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *