विश्व पानी दिवसमा पानीको संकट र समाधानबारे अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन

जनकपुरधाम ।

विश्व पानी दिवस को अवसरमा धनुषा जिल्लाका जनक नन्दनी गाउँपालिका र शहिदनगर नगरपालिकामा स्थानीय कृषक समूहहरूसँग जल संरक्षणका विषयमा दुबै पालिकामा छुट्टाछुट्टै अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम BMZ को आर्थिक सहयोग, WHH को प्राविधिक सहयोग तथा आसमान नेपाल, जानकी महिला जागरण समाज र प्याक नेपाल को संयुक्त साझेदारीमा सञ्चालित दिगो कृषि परियोजना अन्तर्गत आयोजना गरिएको हो।
कार्यक्रममा पछिल्लो समय देखापरेको जलसङ्कट र त्यसका समाधानका उपायहरूका विषयमा उपस्थित सहभागीहरूको बीच विस्तृत छलफल गरिएको आयोजक संस्थाहरूले जनाएका छन्। सहभागीहरूले पानीको संरक्षण कसरी गर्ने, परम्परागत रूपमा अपनाइँदै आएका जल संरक्षणका तरिका तथा आधुनिक प्रविधिबाट जल संरक्षण गर्न सकिने उपायहरूबारे आआफ्ना विचार र अनुभव आदानप्रदान गरेका थिए।
कार्यक्रममा जनक नन्दनी गाउँपालिकाका कृषि शाखा प्रमुख उमेश शर्माले कृषि कार्यमा पानीको किफायती प्रयोगको महत्त्वबारे जानकारी दिनुभयो । उहाँले सिँचाइ व्यवस्थापन प्रभावकारी नभएसम्म कृषकको उत्पादन बढ्न नसक्ने उल्लेख गर्नुभयो।


स्थानीय कृषकहरूले भने पानीकै अभावका कारण उत्पादन घटिरहेको भन्दै सरकारले कृषकका लागि सिँचाइ सुविधा विस्तार गर्नुपर्ने माग गरेका छन्। वडा कार्यालयहरूले आफ्ना क्षेत्रमा आवश्यक सिँचाइ योजनाको अध्ययन गरी पालिका, प्रदेश र संघीय सरकारसँग वडा प्रतिनिधिहरूले माग गर्नुपर्ने कुरामा सहभागी कृषकहरूले जोड दिएका थिए।
कार्यक्रममा सहभागी वडा प्रतिनिधिहरूले वडास्तरबाट गर्न सकिने जल संरक्षणका कार्यक्रम तत्काल सुरु गर्ने र वडाबाट सम्भव नभएका कार्यक्रमका लागि पालिका, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने सहमति पनि भएको आयोजकले जनाएको छ।
सो कार्यक्रममा शहिदनगर नगरपालिकाका नम्बर ४ का वडा अध्यक्ष रमेश मुखिया, कृषि प्राविधिक कामेश्वर यादव, परियोजनाका कृषि अधिकृत भारती थापा, जनक नन्दनी गाउँपालिकाका कृषि शाखा प्रमुख उमेश शर्मा, जानकी महिला जागरण समाजका कोषाध्यक्ष रामदत्त ठाकुर र कृषि प्राविधिक कोमल ठाकुर लगायतका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *