काठमाडौं । नेपालको परराष्ट्र मन्त्रालयले इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई भेटेर वास्तविक अवस्था बुझ्न पहल थालेको जनाएको छ। मन्त्रालयका अनुसार उनीसहित सात जनालाई हर्मुज जलघाँटीभन्दा केही टाढा रहेको केसन आइल्यान्डबाट पक्राउ गरिएको पुष्टि भएको छ। पक्राउ परेकामध्ये तीन जना अझै नियन्त्रणमै रहेका छन्।
महोत्तरीको एकडराबेला–७ पुर्ख्यौली घर भएका अमृतको परिवार हाल उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटमा बस्दै आएको छ। दुबईस्थित एक पानीजहाज कम्पनीमा कार्यरत ३० वर्षीय अमृतलाई किन र कहिले पक्राउ गरियो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। मन्त्रालयले इरानस्थित अवैतनिक महावाणिज्यदूतमार्फत यस विषयमा यथार्थ विवरण जुटाउने प्रयास भइरहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ताले प्राप्त कागजातमा उनलाई कहिले पक्राउ गरिएको भन्नेबारे स्पष्ट नदेखिएको बताएका छन्। उनका अनुसार अमृतलाई पछिल्लो समय इरानमा भइरहेको युद्धकै समयमा पक्राउ गरिएको हो वा त्यसअघि नै नियन्त्रणमा लिइएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ। कतारस्थित नेपाली दूतावासले पनि अवैतनिक महावाणिज्यदूतमार्फत आवश्यक विवरण संकलन गर्ने काम अघि बढाएको जनाएको छ।

मन्त्रालयका अनुसार २५ डिसेम्बरमा ओमनको समुद्रबाट पानीजहाज छुटेको थियो र जहाजमा सात जना सवार थिए। तीमध्ये चार जनालाई तत्कालै छाडिएको थियो भने अमृत र दुई जना भारतीय नागरिक अझै नियन्त्रणमा रहेका छन्। पछिल्लो समय अमेरिका र इजरायलले २८ फेब्रुअरीदेखि इरानमाथि हमला सुरु गरेपछि क्षेत्रको सुरक्षा अवस्था झनै संवेदनशील बनेको छ।
अमृत र दुई भारतीय नागरिकलाई केसन आइल्यान्डबाट हर्मुज क्षेत्रको अब्बास बन्दरगाहस्थित कारागारमा सारिएको मन्त्रालयले जनाएको छ। उनको रिहाइका लागि रोजगारदाता कम्पनी ब्ल्याक सी मरिन एलएलसीले इरानमा वकिल राखेर अदालतमा रिट दर्ता गरिसकेको छ।
वैदेशिक रोजगार विभागका अनुसार अमृत १९ जुलाई २०२४ मा सिम्यान पदमा श्रमस्वीकृति लिएर संयुक्त अरब इमिरेट्स गएका थिए। परिवारले कन्सुलर विभागमा दिएको निवेदनअनुसार उनी दुबईबाट कम्पनीको जहाजमार्फत इरान पुगेका थिए। अमृतकी दिदी पूजाका अनुसार केही दिनअघि आएको ‘भ्वाइस मेसेज’बाट मात्रै भाइ इरानको जेलमा रहेको थाहा भएको हो।
उता, विशेष पहल र दबाब सिर्जना गर्नका लागि अमृतको परिवार आज काठमाडौँ जाने निर्णय गरेको छ। परिवारले परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायलाई भेटेर छिटो कूटनीतिक पहल गर्न आग्रह गर्ने तयारी गरेको जनाएको छ। मन्त्रालयले भने अमृतको अवस्थाबारे थप विवरण संकलन गर्ने, परिवारसँग समन्वय गर्ने र रिहाइका लागि कूटनीतिक पहल जारी राख्ने जनाएको छ।