मधेश प्रदेशबाट एसईई ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने

जनकपुरधाम । आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मधेश प्रदेशबाट ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने भएका छन्।
शिक्षा विकास निर्देशनालय मधेश प्रदेश का अनुसार परीक्षाका लागि प्रदेशभर २९९ वटा परीक्षा केन्द्र तोकिएको छ भने एक हजार ३१६ विद्यालयका विद्यार्थी यसमा सहभागी हुनेछन्। परीक्षालाई व्यवस्थित बनाउन २९९ जना केन्द्राध्यक्ष, ४३३ जना सहायक केन्द्राध्यक्ष, चार हजार २३५ जना निरीक्षक, ७३४ जना परीक्षा सहायक तथा एक हजार ६०३ जना कार्यालय सहयोगी खटाइने तयारी गरिएको निर्देशनालयले जनाएको छ।
त्यसैगरी परीक्षालाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न चार हजार ४८५ जना सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ। मधेश प्रदेशका आठ जिल्लामध्ये धनुषा जिल्ला बाट सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुने भएका छन्। यहाँका २०३ विद्यालयका १३ हजार २६२ विद्यार्थी परीक्षामा बस्नेछन्।
सबैभन्दा कम विद्यार्थी सप्तरी जिल्ला बाट रहेका छन्। सप्तरीबाट १६२ विद्यालयका नौ हजार २७६ विद्यार्थी एसईईमा सहभागी हुनेछन्। त्यसैगरी सिरहा जिल्ला बाट ११ हजार ३८, महोत्तरी जिल्ला बाट ११ हजार ३५१, सर्लाही जिल्ला बाट ११ हजार ३७१, रौतहट जिल्ला बाट नौ हजार ७७७, बारा जिल्ला बाट १० हजार ८१३ र पर्सा जिल्ला बाट १० हजार ७०३ विद्यार्थी सहभागी हुने निर्देशनालयले जनाएको छ।
निर्देशनालयको तथ्याङ्कअनुसार अघिल्लो वर्षको एसईई परीक्षाको तुलनामा यस वर्ष विद्यार्थी सङ्ख्या घटेको छ। अघिल्लो वर्ष ८८ हजार ८५८ विद्यार्थी सहभागी भएका थिए भने यस वर्ष एक हजार २६७ जना कम विद्यार्थी सहभागी हुने भएका छन्।
महेन्द्र महतो ले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समितिमार्फत निरीक्षण तथा अनुगमन गरिनेछ।
निर्देशक महतोले शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेश, शिक्षा विकास निर्देशनालय जनकपुर र शिक्षा तालिम केन्द्र लगायतका निकायको समन्वयमा प्रदेशस्तरीय अनुगमन टोली गठन गरी परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइने तयारी गरिएको बताउनुभयो।
एसईई नजिकिँदै जाँदा मधेश प्रदेशभर विद्यालय, परीक्षा केन्द्र र सुरक्षा निकायले आवश्यक तयारी तीव्र बनाएका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *