काठमाडौं । यो साताको अन्त्यतिर पश्चिमी वायु (वेस्टर्न डिस्टर्बेन्स) पुनः सक्रिय हुने संकेत देखिएको छ । यसको प्रभावले देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन् ।
मौसम पूर्वानुमानका विभिन्न मोडेलहरूले अहिले देखिएको प्रणालीको प्रभावले पूर्वदेखि पश्चिमसम्म वर्षा हुन सक्ने देखाएका छन् । तर यसको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिमी नेपालमा तुलनात्मक रूपमा कम पर्ने सम्भावना रहेको जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागले पनि आगामी शुक्रबार र शनिबार देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।
मौसमविदहरूका अनुसार यो प्रणाली सक्रिय हुँदा मेघगर्जन, चट्याङ र हावाहुरीसमेत चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी पहाडी तथा तराईका केही क्षेत्रमा अचानक हावाहुरी चल्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।
पश्चिमी वायुको प्रभावले साताको अन्तमा पुन वर्षा हुने सम्भावना