काठमाडौं — माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतझैं देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो।
परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रहरूबाट बिहान ८ः०० बजेदेखि एकै समयमा परीक्षा सुरु हुनेछ।
यस वर्ष चैत २९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी रहेका छन्।
परीक्षामा सहभागी हुनेमध्ये छात्राको संख्या बढी देखिएको छ। तथ्यांकअनुसार २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना सहभागी हुनेछन्।
यसैबीच, एसईई परीक्षा अन्तर्राष्ट्रिय रूपमा पनि सञ्चालन भइरहेको छ। जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिँदै छन्।
शिक्षा क्षेत्रको सबैभन्दा महत्वपूर्ण परीक्षाका रूपमा लिइने एसईईलाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्न सम्बन्धित निकायहरूले आवश्यक तयारी पूरा गरिसकेको जनाइएको छ।
आजदेखि एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी