देउवा निवास बिक्री प्रकरण : बूढानीलकण्ठको जग्गा सट्टापट्टा, संरचना हटाउने काम रोकियो


काठमाडौं — शेरबहादुर देउवा को बूढानीलकण्ठस्थित निवास बिक्री भएको खुलासा भएको छ। भदौ २४ गतेको विध्वंशका क्रममा डढेर ध्वस्त बनेको उक्त घर हाइड्रो व्यवसायी विकास गौतम ले खरिद गरेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार लमजुङस्थित एक हाइड्रोपावर कम्पनीका सञ्चालक रहेका गौतमले देउवा दम्पती बस्दै आएको महाराजगञ्जस्थित निवाससँग बूढानीलकण्ठको करिब सात रोपनी जमिन थपेर सट्टापट्टा गरेका हुन्। यद्यपि, उक्त जग्गा कति रकममा किनबेच भएको हो भन्ने विवरण खुलाइएको छैन।
पाँच पटक प्रधानमन्त्री र दुई कार्यकाल पार्टी सभापति भइसकेका देउवाको प्रभावशाली समयमा निकै चर्चित रहेको यो निवास अहिले भग्नावशेषमा परिणत भइसकेको छ। किनबेचपछि नयाँ मालिकले उक्त जग्गामा रहेको संरचना हटाई सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गर्ने योजना अघि बढाएका थिए। सोही अनुसार संरचना हटाउने र जमिन सम्याउने काम समेत सुरु गरिएको थियो।
यसअघि ‘देउवा निवास बिक्रीमा’ शीर्षकमा प्रकाशित समाचारपछि विषय थप चर्चामा आएको थियो। तर, नयाँ सरकारले घर भत्काउने कार्यमा रोक लगाएसँगै जमिन सम्याउने काम पनि रोकिएको छ।
उक्त निवासमा भदौ २४ गते भएको घटनामा विध्वंशकारी समूहले तोडफोड, लुटपाटपछि आगजनी गरेको थियो। आगलागीका क्रममा घरभित्र ठूलो मात्रामा नगद जलेको दाबी गरिँदै त्यससम्बन्धी भिडिओ समेत सार्वजनिक भएको थियो। सोही घटनाको अनुसन्धान आवश्यक रहेको भन्दै सरकारले संरचना हटाउन रोक लगाएको बताइएको छ।
यसैबीच, उक्त दिनको सांघातिक आक्रमणबाट बालबाल बचेका देउवा दम्पती हाल देशबाहिर रहेका छन्। स्वास्थ्य उपचारका लागि चुनावअघि सिंगापुर गएका उनीहरू नेपाल फर्किने तयारीमा हङकङ पुगेको चर्चा भए पनि सम्पत्ति छानबिन गर्ने सरकारी निर्णयसँगै उनीहरू उतै रोकिएको स्रोतले जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *