धनुषा जिल्लामा बालविवाह न्यूनीकरणको अभियान तीव्र, खैरबोना टोल बालविवाह मुक्त घोषणा

जनकपुरधाम ।

धनुषा जिल्लाको सबैला नगरपालिका–१२ स्थित खैरबोना टोललाई बालविवाहमुक्त टोल घोषणा गरिएको छ। गत शनिवार आयोजित एक कार्यक्रमका बीच टोललाई औपचारिक रूपमा बालविवाहमुक्त घोषणा गरिएको हो। बालबालिकाको अधिकार सुनिश्चित गर्दै सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त बनाउने नेपाल सरकारको लक्ष्यलाई आत्मसात गर्दै सबैलामा विगत केही वर्षदेखि निरन्तर अभियान सञ्चालन हुँदै आएको छ।
प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा जानकी महिला जागरण समाजको सहजीकरणमा सञ्चालित “सशक्त बालिका परियोजना” अन्तर्गत पछिल्लो दुई वर्षदेखि बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन्। यस अभियानअन्तर्गत घर–घर सर्वेक्षण, घरदैलो कार्यक्रम, प्रतिबद्धता संकलन तथा जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएको थियो।
घोषणा कार्यक्रममा सबैला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदेव यादवको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै, जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दा कर्ण, बालकल्याण अधिकारी गीता कुमारी महतो, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, युवा क्लब, बाल क्लब, नगर तथा वडा बाल अधिकार समितिका सदस्यहरू र स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत यादवले बालबालिकासँग सम्बन्धित कार्यक्रमहरूमा नगरपालिका निरन्तर सहयोग र नेतृत्व गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बालविवाहमुक्त टोल घोषणा हुनु प्रारम्भिक सफलता भएको उल्लेख गर्दै आगामी दिनमा अनुगमन र नियमनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका क्रममा स्थानीय किशोरीहरूले आफ्नो सांस्कृतिक झल्को दिने नृत्य तथा गीत प्रस्तुत गरेका थिए। वडा अध्यक्ष रामनारायण अधिकारीले खैरबोना टोलले बालविवाहमुक्त घोषणा प्राप्त गर्नु ऐतिहासिक उपलब्धि भएको बताउँदै यसले अन्य समुदायका लागि समेत उदाहरणीय कार्य बनेकोमा खुसी व्यक्त गर्नुभयो।
खैरबोना टोलको यो पहलले बालविवाह न्यूनीकरणमा समुदायस्तरबाट सम्भव प्रयासहरूको सशक्त सन्देश दिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *