अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चल्यो, ट्रम्प सुरक्षित

वासिङ्टन, वैशाख १३ गते ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको एक डिनर कार्यक्रममा हतियारधारी व्यक्तिले आक्रमण प्रयास गर्दा ठूलो सुरक्षा घटना भएको छ।
प्रारम्भिक विवरणअनुसार ती व्यक्तिले बन्दुक र चक्कु लिएर कार्यक्रमस्थलको लबी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए। सुरक्षाकर्मीहरूले तत्काल सक्रियता देखाउँदै उनलाई नियन्त्रणमा लिएका थिए।
घटनाका क्रममा गोली चलेको आवाज सुनिएको थियो भने केही अतिथिहरू त्रसित हुँदै टेबलमुनि लुकेका थिए। राष्ट्रपति ट्रम्पलाई भने सुरक्षाकर्मीहरूले तत्काल सुरक्षित स्थानमा लगेको र उहाँ सकुशल रहेको जनाइएको छ।
सुरक्षाकर्मीहरूसँग भएको मुठभेडमा आक्रमणकारीले गोली चलाएको र जवाफी कारबाहीसमेत गरिएको बताइएको छ। एक सुरक्षाकर्मीलाई गोली लागेको भए पनि बुलेटप्रुफ ज्याकेटका कारण गम्भीर क्षति हुनबाट जोगिएको छ।
आक्रमणकारीलाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनले एक्लै योजना बनाएर आक्रमण प्रयास गरेको निष्कर्ष निकालिएको छ।
अमेरिकी सरकारी वकिलका अनुसार उक्त संदिग्धमाथि हिंसात्मक अपराधका क्रममा हतियार प्रयोग गरेको तथा सङ्घीय सुरक्षाकर्मीमाथि खतरनाक हतियार प्रयोग गरी आक्रमण गरेको आरोप लगाइनेछ। उनलाई सोमबार राजधानीस्थित सङ्घीय अदालतमा पेस गरिने जनाइएको छ।
समाचार स्रोतहरूका अनुसार सुरक्षाकर्मीहरूको तीव्र प्रतिक्रियाका कारण सम्भावित ठूलो दुर्घटना टरेको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र सुरक्षा व्यवस्था थप कडा बनाइएको जनाइएको छ।
रासस/एपी/एएफपी

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *