जनकपुरधाम, वैशाख ४ गते ।
धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–३ स्थित श्री जनशक्ति माध्यमिक विद्यालयमा भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने चारतले विद्यालय भवनको शिलान्यास भारतीय महावाणिज्य दूत देवी सहाय मिनाले गरेका छन्।
वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय ‘मिना’ ले एक समारोहबीच करिब ३.६३ करोड रुपैयाँ लागतको उक्त भवनको शिलान्यास गर्नुभएको हो। परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत सञ्चालन हुन लागेको हो, जसमा करिब ३.४५ करोड रुपैयाँ भारत सरकारको अनुदान र १८ लाख रुपैयाँ बटेश्वर गाउँपालिकाको लगानी रहनेछ।

गाउँपालिका अध्यक्ष रामअशिष महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि भारतीय महावाणिज्यदूत मिनाले भारत–नेपाल विकास साझेदारी अन्तर्गत मधेश प्रदेशमा हालसम्म ८९ वटा HICDP परियोजना स्वीकृत भएको जानकारी दिनुभयो। तीमध्ये ६१ वटा सम्पन्न भइसकेका छन् भने २८ वटा कार्यान्वयनकै चरणमा रहेका छन्। धनुषा जिल्लामा मात्र २१ वटा परियोजना सञ्चालनमा रहेका छन्, जसमध्ये १३ वटा सम्पन्न भइसकेका छन् भने बाँकीमा काम जारी रहेको उहाँले बताउनुभयो।
निर्माण हुने चारतले भवनमा रसायनशास्त्र, भौतिकशास्त्र तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, शिक्षक तथा कर्मचारी कक्ष, प्रधानाध्यापक कक्ष, बैठक कक्ष तथा बालमैत्री शौचालय लगायतका आधुनिक सुविधा रहनेछन्। विद्यालयसँग करिब दुई विघा जग्गा रहेको र सोही क्षेत्रमा भवन निर्माण गरिने योजना रहेको छ।
समारोहमा बोल्दै महावाणिज्यदूत मिनाले विद्यार्थीहरूलाई आधुनिक, सुरक्षित र गुणस्तरीय शिक्षण वातावरण उपलब्ध गराउनु भारत सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो। “यस्ता परियोजनाले बालबालिका र विद्यार्थीका लागि प्रभावकारी शिक्षण सुविधा र अनुकूल शैक्षिक वातावरण सिर्जना गर्छ,” उहाँले भन्नुभयो।

यसअघि पनि भारत सरकारकै सहयोगमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–तुलसियाही जब्दीस्थित श्री वैद्यनाथ देवनारायण जनता माध्यमिक विद्यालयमा करिब चार करोड रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भइसकेको छ।
महावाणिज्यदूत मिनाका अनुसार HICDP परियोजनाहरू विद्यालय, कलेज, अस्पताल, सडक, जल निकास, नदी तटबन्ध, सिँचाइ, विद्युतीकरण तथा सांस्कृतिक पूर्वाधारजस्ता नेपाल सरकारका प्राथमिकता प्राप्त क्षेत्रमा कार्यान्वयन हुँदै आएका छन्। यी परियोजनाले स्थानीय तहमा आधारभूत पूर्वाधार विकास गर्दै जनजीवन उकास्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
त्यस्तै, भारत सरकारले मधेश प्रदेशमा हालसम्म २३२ वटा एम्बुलेन्स र ४० वटा विद्यालय बस सहयोगस्वरूप उपलब्ध गराएको छ। तीमध्ये धनुषा जिल्लामा मात्रै ४६ एम्बुलेन्स र ११ विद्यालय बस प्रदान गरिएको जनाइएको छ, जसले स्वास्थ्य तथा शिक्षामा पहुँच विस्तार गर्न मद्दत पुर्याएको छ।
कार्यक्रममा भारत र नेपालबीचको ऐतिहासिक, बहुआयामिक तथा घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै दुवै देशबीचको विकास सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको थियो। “छिमेकी पहिलो” नीतिअनुसार भारतले नेपालमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने महावाणिज्यदूत मिनाले बताउनुभयो।
भारत–नेपाल विकास साझेदारी अन्तर्गत सञ्चालनमा आएको यो परियोजना ग्रामीण क्षेत्रमा शैक्षिक पूर्वाधार सुदृढ गर्ने महत्वपूर्ण पहलका रूपमा लिइएको छ। भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूले सुरक्षित, आधुनिक र गुणस्तरीय वातावरणमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ ।
