वासिङ्टन, वैशाख १३ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलाएको आरोपमा पक्राउ परेका व्यक्ति ‘पार्ट–टाइम’ शिक्षक रहेको खुलेको छ।
वासिङ्टन हिल्टन होटलमा ह्वाइट हाउस संवाददाताहरूले आयोजना गरेको रात्रीभोजका क्रममा भएको गोलीकाण्डपछि पक्राउ परेका आरोपीको पहिचान क्यालिफोर्नियाको टोरन्सका कोल टोमस एलेनका रूपमा गरिएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।
अहिलेसम्म आक्रमणको उद्देश्य स्पष्ट हुन सकेको छैन। तर संघीय निर्वाचन आयोगको अभिलेखअनुसार सन् २०२४ को राष्ट्रपति निर्वाचनअघि उनले कमला ह्यारिसलाई २५ डलर चन्दा दिएको देखिएको छ।
कोल एलेनले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक गरेका थिए र पछिल्ला वर्षहरूमा उनी भिडियो गेम विकासकर्ता तथा ‘पार्ट–टाइम’ शिक्षकका रूपमा कार्यरत रहेको खुलेको छ।
सामाजिक सञ्जालमा रहेका विवरणअनुसार उनलाई डिसेम्बर २०२४ मा टोरन्सस्थित ‘सी२ एजुकेसन’ले महिनाको उत्कृष्ट शिक्षक घोषणा गरेको थियो। उक्त संस्था कलेज प्रवेश परीक्षाको तयारीका लागि ट्युसन सेवा प्रदान गर्ने निजी शैक्षिक संस्था हो।
करिब ३१ वर्षका एलेन कार्यक्रम भएको होटलमा पाहुनाका रूपमा उपस्थित भएको हुन सक्ने अनुमान गरिएको छ।
उनको व्यावसायिक विवरण उल्लेख भएको अनलाइन प्रोफाइलमा उनले आफूलाई मेकानिकल इन्जिनियर र कम्प्युटर वैज्ञानिक, स्वतन्त्र गेम डेभेलपर तथा शिक्षकका रूपमा परिचय दिएका छन्।
साथै, उनले सन् २०१७ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा स्नातक र २०२५ मा क्यालिफोर्निया स्टेट युनिभर्सिटीबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर गरेको विवरण पनि उल्लेख गरेका छन्। क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीले उक्त व्यक्तिले २०१७ मा स्नातक गरेको पुष्टि गरेको छ।
हाल घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ भने आक्रमणको वास्तविक कारण अझै खुल्न बाँकी रहेको अधिकारीहरूले जनाएका छन्।
अमेरिकाका राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने व्यक्ति ‘पार्ट–टाइम’ शिक्षक रहेको आशंका