काठमाडौं, वैशाख १३ गते ।
बागमती र मनोहरा किनारका सुकुम्बासी बस्तीहरू भत्काइएपछि सरकारले उनीहरूलाई व्यवस्थापन गर्ने भन्दै नागार्जुन क्षेत्रमा रहेको अपार्टमेन्ट सरसफाइ तथा तयारीको काम सुरु गरेको छ।
नागार्जुन नगरपालिका–१ इचंगुमा रहेको उक्त अपार्टमेन्टमा सुकुम्बासी परिवारलाई राख्ने तयारी गरिए पनि बस्ती हटाइसकेपछि मात्र व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो।
शनिबार थापाथली, सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रका सुकुम्बासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलनको काम जारी छ। विवरण संकलनका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्क्रिनिङ केन्द्र सञ्चालनमा ल्याइएको छ।
आइतबार दिउँसोसम्म करिब ३०० परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका छन्। तर उनीहरूको स्थायी व्यवस्थापन अझै सुनिश्चित हुन सकेको छैन।
यसबीच करिब २०० जनाभन्दा बढीलाई कीर्तिपुरस्थित सत्सङ हलमा अस्थायी रूपमा राखिएको छ भने सत्सङ हल भरिएपछि १०० भन्दा बढीलाई माछापोखरी र नयाँ बसपार्क क्षेत्रका होटलहरूमा स्थानान्तरण गरिएको छ।
सरकारले उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि अपार्टमेन्ट प्रयोग गर्ने तयारी गरे पनि हाल सरसफाइ र आवश्यक पूर्वाधार मिलाउने काम मात्र भइरहेको छ।
स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय नहुँदा तत्कालीन व्यवस्थापनमा चुनौती देखिएको छ भने प्रभावित परिवारहरू अस्थायी बसोबासमै बस्न बाध्य भएका छन्।