काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराती अब हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको भूमिकामा रहने भएका छन् ।
किराती पक्षका एक नेताका अनुसार पार्टी एकतासँगै सुदन किराती समूहले पार्टीमा एक उपाध्यक्ष, एक सचिव तथा १५ जना केन्द्रीय सदस्यसमेत पाउने सहमति भएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमाओवादी नेता किरातीबीच बिहीबार राति ललितपुरमा भएको छलफलपछि पार्टी एकतामा सहमति जुटेको हो । आज काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजना गरिने कार्यक्रममा पार्टी एकताको औपचारिक घोषणा गरिने बताइएको छ । कार्यक्रम अपराह्न ३ बजेका लागि तय गरिएको छ ।
भोजपुर निवासी सुदन किराती पूर्वमाओवादी आन्दोलनका चर्चित नेता हुन् । उनी पूर्वपर्यटनमन्त्रीसमेत भइसकेका छन् । जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायतका नेताहरूबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि किराती असन्तुष्ट बनेका थिए । त्यसपछि उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा सक्रिय भएका थिए ।
पछिल्लो समय वैकल्पिक राजनीतिक शक्ति निर्माणको बहस चलिरहेका बेला किराती र हर्क साम्पाङबीचको सहकार्यलाई नयाँ राजनीतिक ध्रुवीकरणका रूपमा समेत हेरिएको छ ।
सुदन किराती श्रम संस्कृति पार्टीको वरिष्ठ नेतामा, पार्टी एकताको औपचारिक घोषणा आज