काठमाडौं — आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत भारतविरुद्ध खेल नखेल्ने पाकिस्तानको निर्णय यथावत् रहने भएको छ। पाकिस्तान सरकारले यस विषयमा पुनः स्पष्ट पार्दै भारतसँगको खेल नखेल्ने अडानबाट पछि नहट्ने जनाएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले मन्त्रीपरिषद् बैठकमा क्रिकेटलाई राजनीतिबाट अलग राख्नुपर्ने बताए। तर वर्तमान परिस्थितिमा भारतविरुद्ध खेल्नु उपयुक्त नहुने निष्कर्षमा सरकार पुगेको उनको भनाइ थियो। उनका अनुसार पाकिस्तानले यो निर्णय भावनात्मक नभई दीर्घकालीन राष्ट्रिय हित र क्षेत्रीय सन्दर्भलाई ध्यानमा राखेर लिएको हो।

सरकारका अनुसार बंगलादेशले सुरक्षा कारण देखाउँदै भारतमा खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले उनीहरूको खेल स्थल परिवर्तन गरेको घटनापछि पाकिस्तानले पनि असन्तुष्टि जनाएको हो। पाकिस्तानले यसलाई अन्तर्राष्ट्रिय क्रिकेट प्रशासनमा दोहोरो मापदण्डको उदाहरणका रूपमा व्याख्या गरेको छ।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षले पनि आईसीसीको निर्णयप्रति असहमति जनाउँदै समान व्यवहार नदेखिएको आरोप लगाएका छन्। सरकारले यसअघि नै भारतसँग तय भएको खेलमा टोली मैदानमा नउत्रने औपचारिक निर्णय गरिसकेको छ।
यस घटनाले क्रिकेट र राजनीति बीचको सम्बन्धलाई फेरि चर्चामा ल्याएको छ। विश्वकपजस्तो ठूलो प्रतियोगितामा दुई परम्परागत प्रतिद्वन्द्वीबीचको खेल नहुने भएपछि प्रतियोगिताको रोमाञ्च र व्यावसायिक पक्षमा समेत असर पर्ने विश्लेषकहरूको भनाइ छ। तर पाकिस्तान सरकार भने आफ्नो निर्णयमा दृढ रहेको देखिन्छ।