कृषि मन्त्रालय माँग्यो, स्थानीय तहको कर्मचारी विवरण

काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकहरूको विस्तृत विवरण माग गरेको छ। मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई तोकिएको समयसीमाभित्र आवश्यक विवरण पठाउन निर्देशन दिएको हो।
मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाले जारी गरेको सूचनाअनुसार स्थानीय तहमा कार्यरत प्राविधिकहरूको वास्तविक अवस्था पहिचान गरी आगामी कार्यक्रम, बजेट तथा जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन विवरण संकलन गर्न लागिएको हो। यसअन्तर्गत साविकमा ‘एक गाउँ विकास समिति, एक प्राविधिक’ कार्यक्रममार्फत करारमा नियुक्त भई हाल स्थानीय तहमा समायोजन भएर सेवा दिइरहेका प्राविधिकहरू पनि समेटिनेछन्।


मन्त्रालयले विशेषगरी साविक गाउँ विकास समितिमा राजपत्र अनंकित द्वितीय श्रेणीको प्राविधिक सहायक पदमा नियुक्त भई निरन्तर सेवा दिइरहेका कर्मचारीहरूको विवरण अनिवार्य रूपमा पठाउन आग्रह गरेको छ। माग गरिएको विवरणमा कर्मचारीको नाम, श्रेणी, सेवा समूह, कार्यरत स्थानीय तह, नियुक्ति मिति, करार सम्झौता नवीकरणको अवस्था लगायतका जानकारी समावेश गर्नुपर्नेछ।
त्यस्तै, सम्बन्धित प्राविधिकहरूको नियुक्ति पत्र तथा करार सम्झौताका छायाप्रति पनि विवरणसहित पठाउन मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका अनुसार यसबाट स्थानीय तहमा उपलब्ध प्राविधिक जनशक्तिको यथार्थ तथ्यांक प्राप्त हुने र त्यसकै आधारमा कृषि तथा पशुपन्छी क्षेत्रका कार्यक्रमहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तहमा प्राविधिक अभाव, कार्यक्षमता र व्यवस्थापनसम्बन्धी विषय बारम्बार उठ्दै आएको सन्दर्भमा मन्त्रालयको यो कदमलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *