आजदेखि देशभर किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु


काठमाडौं , माघ २६ ।

सरकारले आजदेखि देशभरि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) बिरुद्धको खोप (एचपीभी—HPV) अभियान सुरु गरेको छ।
स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार कक्षा ६ मा अध्ययन गर्ने किशोरीहरुलाई विद्यालयमै, र विद्यालय बाहिर १० वर्ष उमेरका तथा माथिका किशोरीहरुलाई तोकिएका खोप केन्द्रमा खोप लगाइँदैछ। अभियान फागुन २७ सम्म चल्ने बताइएको छ।


यस वर्षको कार्यक्रममा गत वर्ष खोप छुटेका कक्षा ७–१० का विद्यार्थी र ११–१४ वर्ष उमेरका बाहिर पढ्ने किशोरीहरुलाई पनि कभर गरिने योजना छ। हिमाली तथा केही हिउँ पर्ने जिल्लामा भने खोप अभियान चैतमा सञ्चालन गरिनेछ।
शाखाका प्रमुख डा. अभियान गौतमले खोप १०० प्रतिशत प्रभावकारी भएको भन्दै सबै पात्र किशोरीलाई खोप लगाउन आग्रह गरेका छन्।
नेपालमा महिलामा देखिने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो सबैभन्दा बढी देखिएको र क्यान्सरका कारण हुने मृत्युबीच पहिलो स्थानमा रहेको तथ्यलाई ध्यानमा राख्दै यो अभियानलाई धेरै महत्वपूर्ण मानिएको छ।
सरकारी तथ्यांक अनुसार गत वर्ष करिब १७ लाख किशोरीहरुलाई खोप लगाइएको थियो भने यो वर्ष करिब ३ लाख ५० हजार किशोरीलाई खोप दिन लक्ष्य राखिएको छ।
यो अभियानले पाठेघरको मुखको क्यान्सर नियन्त्रण र रोकथाममा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ, जसले लाखौँ महिलाको जीवन रक्षा गर्न मद्दत गर्नेछ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *