तनहुँ ।
— पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा तनहुँका पाँच जनासहित १९ जनाको मृत्यु भएपछि जिल्लाभर शोक छाएको छ।
सोमबार बिहान करिब १:३० बजे धादिङ को बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा ग २ ख १४२१ नम्बरको बस सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि स्थानीय तहहरू स्तब्ध बनेका छन्।
मृतकहरूमा संखुवासभा–७ निवासी ५५ वर्षीया विष्णुमाया ढकाल र उहाँका ६३ वर्षीय श्रीमान् रुद्रप्रसाद ढकाल, ब्यास–१ मोहरियाटारका ४० वर्षीय ओमकुमार मल्ल, भीमद–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल र शुक्लागण्डकी–२ की २० वर्षीया अर्चना पौडेल रहेका छन्।
दुर्घटनापछि सनाखत प्रक्रिया पूरा भएसँगै सम्बन्धित क्षेत्रहरूमा शोकको माहोल छाएको छ। बिहानैदेखि मृतकका घरमा आफन्त, छिमेकी र शुभेच्छुकहरूको भीड लागेको छ। दैनिक कामकाजका लागि यात्रा गरेका उनीहरू घर नफर्किएपछि परिवारजन गहिरो पीडामा परेका छन्।
दुर्घटनाबारे अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो।

स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। दुर्घटनाले सम्पूर्ण पोखरा काठमाडौँ मार्गमा यात्रा सुरक्षाको विषयमा पुनः ध्यानाकर्षण गराएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई राहत तथा सहयोगका लागि स्थानीय तह र सरोकारवाला निकायहरूले समन्वय गरिरहेको जनाइएको छ।