रौतहट ।

गौर नगरपालिकाको सवगढा क्षेत्रमा भएको झडपपछि तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले २२ जनाविरुद्ध आपराधिक उपद्रो तथा आगजनीको कसुरमा मुद्दा दर्ता गरेको छ।
घटनाक्रमअनुसार, विवादका क्रममा भएको झडपपछि केही सवारीसाधनमा आगजनी र घरमा तोडफोड गरिएको थियो। घटनापछि प्रहरीले शनिबार केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामध्ये केहीमाथि थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, घटनासँग सम्बन्धित थप दुई जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले कानुनी प्रक्रिया अनुसार मुद्दा दर्ता गरी प्रमाण संकलन तथा बयान लिने काम जारी राखेको जनाएको छ।
घटनाले स्थानीय क्षेत्रमा केही समय तनाव सिर्जना गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो। हाल अवस्था सामान्य बन्दै गएको जनाइएको छ।