धनकुटा ।
धनकुटा बजारको छेउमै रहेको आठपहरिया वस्ती विकासका आधारभूत पूर्वाधारबाट अझै टाढा रहेको स्थानीयले बताएका छन्। मुलुकभरमै सीमित क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक आठपहरिया समुदायको मुख्य थातथलोमा सहज पहुँचको बाटोसमेत नभएको उनीहरूको गुनासो छ।
विशेषगरी धनकुटा नगरपालिका–८ अन्तर्गत पर्ने सान्ताङ, याक्ते, टेकुनाला र खाम्बेला जस्ता गाउँमा खानेपानी, सिँचाइ तथा सडकजस्ता अत्यावश्यक पूर्वाधारको अभाव रहेको स्थानीयले बताएका छन्। बजारको मुख्य चोकबाट तीन–चार किलोमिटरको दूरीमा भए पनि ती वस्तीमा आधुनिक विकासका संकेत न्यून देखिन्छन्।
वस्तीमा पुरानै शैलीका घरहरू प्रशस्तै छन् भने स्थानीयहरू आफ्नै मौलिक पहिरनमा देखिने गर्छन्। पछिल्ला वर्षहरूमा पालिकाबाट केही विकास प्रयास भए पनि ती पर्याप्त नभएको स्थानीयको भनाइ छ। उनीहरूले गाउँको समग्र मुहार फेर्न ठूला र दीर्घकालीन योजनाहरू आवश्यक रहेको सुझाव दिएका छन्।
यसअघि भएका निर्वाचनहरूमा उम्मेदवारहरूले घरदैलोका क्रममा विभिन्न आश्वासन दिए पनि अधिकांश माग अझै पूरा नभएको स्थानीयको गुनासो छ। समुदायले खानेपानीको स्थायी व्यवस्था, सडक सुधार, सिँचाइ सुविधा विस्तार र बस्ती विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
स्थानीय तह र सरोकारवालाले यी समस्या समाधानका लागि समन्वयात्मक योजना अघि बढाएमा आठपहरिया वस्तीको जीवनस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
