सबैलामा स्वास्थ्य आमा समूह गठन, बालिका संरक्षण र मातृस्वास्थ्यमा जोड


जनकपुरधाम ।

सशक्त बालिका परियोजनाअन्तर्गत सबैला नगरपालिकाका चार वडामा स्वास्थ्य आमा समूह गठन सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले सञ्चालन गरिरहेको ‘सशक्त बालिका परियोजना’ले प्रारम्भिक बाल विकास र बालिका संरक्षणका विषयमा केन्द्रित रहेर काम गर्दै आएको छ।
परियोजना अन्तर्गत सबैला नगरपालिका वडा नं. ९, १०, ११ र १३ मा विगत एक वर्षदेखि ५० वटा अभिभावक शिक्षा समूह सञ्चालनमा थिए। सोही अनुभवका आधारमा अहिले १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरूलाई समेटेर साविक वडा अनुसार स्वास्थ्य आमा समूह गठन गरी नियमित स्वास्थ्य कक्षा सुरु गरिएको हो।


नेपाल सरकारको स्वास्थ्य आमा समूह गठनसम्बन्धी प्रावधानअनुसार एक जना महिला स्वास्थ्य स्वयंसेविकाले एक समूह सञ्चालन गर्ने व्यवस्था छ। नवगठित समूहमार्फत गर्भजाँच, सुरक्षित सुत्केरी तथा सुत्केरीपछिको हेरचाह, खोपसम्बन्धी जानकारी, पोषण, सरसफाइ, परिवार योजना, किशोरी स्वास्थ्य, महिनावारी स्वच्छता तथा स्वास्थ्य सेवा प्रदायक र सेवाग्राहीबीचको सम्बन्ध सुधारजस्ता विषयमा सचेतना तथा छलफल गरिने जनाइएको छ।
समूह गठन कार्यक्रममा वडा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा जानकी महिला जागरण समाजका परियोजनामा आवद्ध कर्मचारीहरूको सहभागिता रहेको थियो। सहजीकरण स्वास्थ्य संस्थाका प्रमुखहरूले गरेका थिए।
सबैला स्वास्थ्य संयोजक गुलेश्वर गरेरीका अनुसार परियोजनाको प्रभावस्वरूप बालबालिकाको स्याहार–सुसारमा पुरुषहरूको संलग्नता बढेको, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि भएको छ। साथै, स्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवाको मूल्यांकनमा वडा नं. ११ र ९ ले क्रमशः प्रथम र मध्यम स्तरको स्थान हासिल गरेका छन्। स्वास्थ्यकर्मी र सेवाग्राहीबीचको सम्पर्क तथा समन्वय पनि सुधारोन्मुख रहेको बताइएको छ।
परियोजनाका कार्यक्रम अधिकृत खगेन्द्र दाहालले आगामी दिनमा सबै महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो–आफ्नो टोलमा स्वास्थ्य आमा समूहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नगरपालिका स्तरबाट विशेष पहल आवश्यक रहेको सुझाव दिए।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *