ओखलढुंगा–१ को १८६ मत कम देखिएपछि परिणाम प्रति शंका, उपचारका लागि सर्वोच्च जाने

काठमाडौं । ओखलढुंगा–१ को प्रतिनिधिसभा निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले कानुनी उपचार खोज्ने तयारी गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेललाई विजयी घोषणा गरी प्रमाणपत्र दिइसकेको छ। तर लुइँटेलले मतपरिणाममा गम्भीर प्रश्न उठाउँदै यस विषयमा कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्।


उनका अनुसार मतदानपछि तयार गरिएको मुचुल्कामा उल्लेख भएको मतसंख्याभन्दा अन्तिम मतगणनामा कम मत देखिएको छ। २१ फागुनमा सम्पन्न मतदानमा कुल ५९ हजार ७७ मत खसेको उल्लेख भए पनि अन्तिम गणनामा सदर र बदर मत जोड्दा ५८ हजार ८९१ मात्र देखिएको दाबी उनले गरेका छन्। यसरी मुचुल्कामा उल्लेख गरिएको मतभन्दा १८६ मत कम देखिएपछि परिणामप्रति शंका उत्पन्न भएको उनको भनाइ छ।
यो क्षेत्रमा अत्यन्तै झिनो मतान्तरले हार–जित भएको छ। अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेल १३ हजार ९५३ मतसहित विजयी भएका छन् भने कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्। दुबैबीच केवल ५ मतको अन्तर रहेको छ।
यता मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले भने मतगणना दलका प्रतिनिधिहरूकै उपस्थितिमा नियमअनुसार गणना गरिएको भन्दै कुनै अनियमितता नभएको बताएका छन्। यदि कसैलाई परिणामप्रति असन्तुष्टि भए कानुनी उपचार खोज्न सकिने उनले बताएका छन्।
ओखलढुंगाको यो परिणाम अत्यन्तै झिनो मतान्तरले तय भएको र मतसंख्यामा देखिएको अन्तरबारे प्रश्न उठेपछि आगामी दिनमा यस विषयमा कानुनी प्रक्रियामा जाने सम्भावना देखिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *