सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरेर राखिएका बसहरूमा मंगलबार राति आगलागी हुँदा तीन वटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीन बसमा आंशिक क्षति पुगेको छ।
मंगलबार राति करिब १० बजे ग्यारेजमा राखिएका बसहरूमा अचानक आगलागी भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी निरीक्षक जीवन कुँवरको नेतृत्वमा खटिएको टोलीले दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास गरेको थियो। करिब १०:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जनाइएको छ।
आगलागीका कारण को१ख ६२७४, प्र१–०१–००१ख ४०३७ र बा४ख ५७५९ नम्बरका बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्। साथै को१ख ३८४७, बा५ख ५८१४ र बा५ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। आगलागी कसरी भयो भन्ने कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रारम्भिक अनुमान अनुसार आगलागीबाट बसहरूमा ठूलो आर्थिक क्षति पुगेको छ भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
