असई‌ बन्ने सपना बोकेकाले सर्लाही–२ बाट हराए दुई दिगज हस्ती महतो र यादवलाई

सर्लाही–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका उनले स्थापित दलका प्रभावशाली नेताहरूलाई पराजित गर्दै पहिलो पटक संसद् प्रवेश गरेका हुन्।
निर्वाचन परिणाम अनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै स्पष्ट विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी महेन्द्र राय यादवले ८ हजार ५२३ मत पाए भने राजेन्द्र महतो ५ हजार ९९२ मतमा सीमित भए। लामो समयदेखि प्रभाव जमाएका नेताहरूलाई पराजित गर्दै उनले सर्लाही–२ मा नयाँ राजनीतिक सन्देश दिएका छन्।


सर्लाहीको कविलासी नगरपालिका–१० सलेमपुरका ३८ वर्षीय महतो सामान्य परिवारमा जन्मेका हुन्। उनका बुवा रामपुकार महतो र आमा ललिया देवी हुन्। स्थानीय परिवेशमै हुर्किएका उनले संघर्षपूर्ण जीवन पार गर्दै राजनीतिमा आफ्नो स्थान बनाएका छन्।
महतोले महोत्तरीको लोहारपट्टीस्थित श्री भेरुखी माध्यमिक विद्यालयबाट २०६२ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि जनकपुरस्थित राजर्षि जनक क्याम्पसमा प्लस टु अध्ययन गरे। आर्थिक अवस्था कमजोर भएकाले पढाइसँगै उनले ट्युसन पढाउने कामसमेत गरेका थिए।
प्लस टु उत्तीर्ण गरेपछि उनले नेपाल प्रहरीको असई (सहायक निरीक्षक) पदका लागि परीक्षा दिएका थिए। तर सफल हुन नसकेपछि उच्च शिक्षाका लागि काठमाडौं गएर अध्ययन जारी राखे। उनले त्रिचन्द्र मल्टिपल क्याम्पसबाट २०६९ सालमा बीएससी उत्तीर्ण गरेका हुन्। पढाइको क्रममा जीविकोपार्जनका लागि कहिले कपडामा बुट्टा बुन्ने त कहिले विद्यार्थीलाई कलेजमा भर्ना गराउने जस्ता काम गर्दै आफ्नो पढाइ अघि बढाएका थिए।
पछि उनले राजनीति रोज्दै चुनावी मैदानमा प्रवेश गरेका थिए। स्थानीय मतदाताले परिवर्तनको अपेक्षा गर्दै आफूलाई समर्थन गरेको महतोको भनाइ छ। उनले जनताले दिएको विश्वासलाई कायम राख्दै विकास र सुशासनलाई प्राथमिकता दिने बताएका छन्।
निर्वाचनपछि उनले सर्लाहीको विकासलाई मुख्य प्राथमिकता बनाउने बताएका छन्। “मान्छेले सडेको सर्लाही र गलेको मलंगवा भन्थे, अब सजेको सर्लाही र बलेको मलंगवा बनाउने लक्ष्य लिएर आएको छु,” उनले बताएका छन्।
यस चुनावी परिणामसँगै सर्लाही–२ मा लामो समयदेखि प्रभाव जमाएका पुराना नेताहरूलाई पछि पार्दै नयाँ पुस्ताको प्रतिनिधित्व संसद्मा पुगेको विश्लेषण गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *