झापा — बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरीसहित चारजना घाइते भएका छन्। आइतबार भएको घटनामा घाइते चितुवालाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासी र सुरक्षाकर्मीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।
स्थानीय कमल खड्काको मकैबारीमा घाइते अवस्थामा चितुवा देखिएपछि प्रहरी, वन कर्मचारी र स्थानीयवासी घटनास्थलमा पुगेका थिए। चितुवालाई नियन्त्रणमा लिन खोज्ने क्रममा अचानक विच्किएर उसले त्यहाँ रहेका व्यक्तिहरूमाथि आक्रमण गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार आक्रमणमा सशस्त्र प्रहरी सुरक्षा बेस टिमाइका सहायक प्रहरी नायब निरीक्षक केदार श्रेष्ठ घाइते भएका छन्। त्यस्तै बुद्धशान्ति–६ का ५० वर्षीय कृष्ण गजमेर, मेचीनगर–१० का २६ वर्षीय विशाल कार्की र बुद्धशान्ति–६ कै ५४ वर्षीय दुर्गाबहादुर कटुवाल पनि घाइते भएका छन्।
घाइते चारै जनाको बुद्धशान्तिस्थित भागिरथा न्यौपाने अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासीको कुटपिटबाट चितुवाको मृत्यु भएको पनि प्रहरीले पुष्टि गरेको छ।
पछिल्लो समय तराई र पहाडी क्षेत्रको सिमानामा वन्यजन्तु बस्तीमा पसेर आक्रमण गर्ने घटनाहरू बढ्दै गएकाले स्थानीयवासीमा त्रास फैलिएको छ।
