काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने को मुद्दामा सोमबार (चैत ९) पनि सर्वोच्च अदालत मा सुनुवाइ जारी रहेको छ।
आइतबार महान्यायाधिवक्ताको कार्यालय ले सर्वोच्च अदालतको मागअनुसार लामिछानेको मुद्दा फिर्तासम्बन्धी निर्णय संशोधन गरिएको फाइल अदालतमा पेस गरेको थियो। अदालतले माग गरेको कागजात पेस भएपछि त्यससम्बन्धी बहस आजबाट अघि बढेको हो।
सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ। मुद्दा फिर्ताको निर्णय र त्यसमा गरिएको संशोधन कानुनी रूपमा वैध छ वा छैन भन्ने विषयमा आज बहस केन्द्रित हुने बताइएको छ।

गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेपछि उक्त निर्णयको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।
त्यसपछि निर्णय विवादमा परेपछि महान्यायाधिवक्ताले पुनः संशोधन गर्दै सहकारी ठगीसँग सम्बन्धित मुद्दाबाहेक लामिछानेसँग जोडिएका अन्य प्रतिवादीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधनमार्फत फिर्ता लिएकी थिइन्। सोही संशोधित निर्णय कानुनी रूपमा मान्य हुने कि नहुने भन्ने विषयमा अहिले सर्वोच्च अदालतमा बहस भइरहेको छ।