जनकपुरधाम, चैते छठ का धार्मिक विधि सुरु भएसँगै जनकपुर, जलेश्वर, लाहान लगायत तराई–मधेशका विभिन्न स्थानमा श्रद्धालुहरू ठूलो संख्यामा छठ पर्व मनाउन जुटेका छन्। घाटहरूमा व्रतालुहरू बिहानैदेखि स्नान, पूजापाठ तथा व्रतको तयारीमा व्यस्त देखिएका छन् भने नदी, पोखरी र जलाशय आसपासको क्षेत्रमा धार्मिक वातावरण झन् बढेको छ।
यसैबीच पर्सा सहितका क्षेत्रमा पनि चैते छठको धार्मिक विधि औपचारिक रूपमा सुरु भएको छ। व्रतालुहरूले आइतबार ‘नहा–खाय’ विधिबाट व्रत प्रारम्भ गरेका हुन्। यस दिन व्रतालुहरूले स्नान गरेर शुद्ध रूपमा पकाइएको दाल, भात र लौकाको तरकारी खाने परम्परा रहेको छ। यसै दिनदेखि व्रतालुहरूले तामसी भोजन त्याग्ने गर्छन्।
बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको चैते छठ पर्व समापन हुने छ। तराई–मधेश क्षेत्रमा वर्षमा दुई पटक छठ पर्व मनाउने परम्परा छ। कात्तिकी छठ सबैभन्दा ठूलो पर्वका रूपमा मनाइन्छ भने चैते छठ पनि विशेष आस्था र भाकलसँग जोडिएर मनाउने गरिन्छ। कतिपय व्रतालुले कात्तिकी छठ मात्र मान्ने गर्छन् भने कतिपयले दुवै छठ पर्व मनाउने गरेका छन्।

छठ पर्वलाई सूर्य उपासना र पवित्रताको पर्वका रूपमा मानिन्छ। यस अवसरमा नदी, पोखरी तथा तलाउहरू सफा गर्ने, घाट सजाउने र परिवारका सदस्यसहित सामूहिक रूपमा पूजा गर्ने परम्परा रहिआएको छ। यस वर्ष पनि मधेशका विभिन्न सहर तथा गाउँहरूमा धार्मिक उत्साहका साथ चैते छठ मनाउन सुरु भएको छ।