विदेशी नागरिक तथा गैरआवासीय नेपालीका लागि आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्क

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अब नेपाली मूलका विदेशी नागरिक तथा गैरआवासीय नेपालीका लागि आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्क स्थापना गरिने भएको छ। अध्यागमन विभाग ले आइतबार यससम्बन्धी निर्णय गर्दै विमानस्थल कार्यालयलाई अलग्गै डेस्कको व्यवस्था गर्न पत्राचार गरेको जनाएको छ।
विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपाली (एनआरएन)लाई सहज सेवा उपलब्ध गराउने, उनीहरूको नेपाली भाषा, संस्कृति र मातृभूमिसँगको सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको विभागले जनाएको छ। यसबाट नेपालमा पर्यटन तथा लगानी प्रवर्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस विषयमा लामो समयदेखि आवाज उठाउँदै आएको एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले सरकारको निर्णयलाई स्वागत गरेको छ। संस्थाले विज्ञप्ति जारी गर्दै निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकलाई सम्मान गरिएको महसुस हुने बताएको छ।
एएनओका अध्यक्ष डिल्ली अधिकारी ले जारी गरेको विज्ञप्तिमा गृह प्रशासनको निर्णयले विदेशमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग अझ नजिक बनाउने विश्वास व्यक्त गरिएको छ। संस्थाले गृहमन्त्री ओमप्रकाश अर्याल र गृह प्रशासनलाई धन्यवादसमेत दिएको छ।


सरकारको यो निर्णय कार्यान्वयनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी नागरिकका रूपमा आउने नेपाली मूलका व्यक्तिहरूले छुट्टै सेवा पाउने छन्। यसलाई विदेशमा रहेका नेपालीसँग नेपालको सम्बन्ध सुदृढ बनाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *