जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले प्रदर्शन र ध्वंसात्मक गतिविधि नियन्त्रणमा नेपाली सेना बाट ‘अपेक्षाकृत सहयोग नभएको’ निष्कर्ष निकालेको छ ।
आयोगले सार्वजनिक गरेको निष्कर्षअनुसार राज्यका केही संवेदनशील निकायहरूको सुरक्षामा सेनाले अग्रसरता लिनुपर्नेमा निष्क्रिय बसेको भन्दै गम्भीर प्रश्न उठाइएको छ । आयोगले विशेषगरी आन्दोलनका क्रममा सरकारी संरचना तथा महत्वपूर्ण कार्यालयहरूमा सुरक्षा व्यवस्थापन प्रभावकारी हुन नसकेको उल्लेख गरेको छ ।
यद्यपि आयोगले नेपाली सेना को समग्र संस्थागत संरचनालाई दोष नदिई केही निश्चित गण र टुकडीहरूलाई जिम्मेवार ठहर्याएको जनाएको छ । आयोगको प्रतिवेदनमा विशेष परिस्थितिमा जिम्मेवारीमा रहेका केही गणहरूले अपेक्षित भूमिका निर्वाह नगरेको उल्लेख गरिएको छ ।
त्यसक्रममा आयोगले नेपाली सेना अन्तर्गतका केही गणका प्रमुखहरूलाई कारबाही गर्न सिफारिससमेत गरेको छ । प्रतिवेदनले भविष्यमा यस्ता घटनामा सुरक्षा संयन्त्रबीच समन्वय मजबुत बनाउन आवश्यक रहेको पनि औंल्याएको छ ।