काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा बन्ने नयाँ सरकारको मन्त्रिपरिषद् संरचना र सम्भावित मन्त्रीहरूको नामबारे राजनीतिक वृत्तमा तीव्र चासो देखिएको छ । प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको र त्यसमा एक तिहाइ महिला समेट्ने प्रयास भइरहेको स्रोतहरूले बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल ले आजै बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ भने सोही दिन मन्त्रीहरूले पनि शपथ लिने तयारी गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवास मा हुने समारोहमा नयाँ सरकारको प्रारम्भिक संरचना सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
१६ सदस्यीय मन्त्रिपरिषद् र महिला सहभागिता
रास्वपाका एक नेताका अनुसार प्रधानमन्त्रीसहित १६ जनाको मन्त्रिपरिषद् बनाउने योजना बनाइएको छ । यसमा महिलाको प्रतिनिधित्व कम्तीमा एक तिहाइ पुर्याउने लक्ष्य राखिएको छ । रास्वपामा प्रत्यक्षतर्फ १३ र समानुपातिकतर्फ ४८ जना महिला सांसद रहेकोले महिला सहभागितालाई प्राथमिकता दिइने बताइएको छ ।
सरकार गठनको प्रारम्भिक खाकाअनुसार मन्त्रालयको संख्या पनि घटाएर सीमित बनाउने तयारी भइरहेको छ । पर्यटन र उद्योग मन्त्रालयलाई एउटै मन्त्रीलाई दिने तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय पनि एउटै मन्त्रीले हेर्ने गरी छलफल भइरहेको स्रोतले जनाएको छ ।
सम्भावित मन्त्रीको सूचीमा चर्चित नाम
नयाँ सरकारमा मन्त्री बन्ने सम्भावित सूचीमा रास्वपाका केही प्रभावशाली नेताहरूको नाम चर्चामा रहेको छ । अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्ले को नाम लगभग निश्चितजस्तै रहेको बताइन्छ भने परराष्ट्रमन्त्रीमा शिशिर खनाल को नाम प्रमुख रूपमा अघि आएको छ ।
त्यस्तै मन्त्री बन्ने चर्चामा सोबिता गौतम, इन्दिरा राना, सुनील लम्साल, सस्मित पोखरेल र सुधन गुरुङ लगायतका नाम पनि रहेका छन् ।
स्रोतका अनुसार सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । समानुपातिक प्रणालीबाट सांसद बनेकी प्रतिभा रावल लाई पनि मन्त्री बनाउने विषयमा छलफल चलिरहेको बताइएको छ ।
यसैगरी सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंह लाई पनि मन्त्री बनाउने विषयमा छलफल भइरहेको रास्वपाका नेताहरूले बताएका छन् ।
अन्तिम नाम टुंग्याउन शीर्ष नेतृत्वको बैठक
मन्त्रीहरूको अन्तिम नाम टुंगो लगाउन रास्वपाका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनसहित उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहानै बैठक बस्ने तय भएको बताइएको छ ।
सरकार गठनसँगै प्रारम्भिक चरणमा प्रशासन सुधार, मन्त्रालयको पुनर्संरचना र सुशासनलाई प्राथमिकतामा राख्ने तयारी भइरहेको स्रोतले जनाएको छ । नयाँ सरकारको मन्त्रिपरिषद् सूची आजै सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।