राजेश कुमार कर्ण
जनकपुरधाम । आज राम नवमी अर्थात् भगवान भगवान रामचन्द्र को जन्मदिनको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले आज नेपालको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । धार्मिक र राजनीतिक दुवै दृष्टिले महत्वपूर्ण मानिएको दिनमै उनले प्रधानमन्त्री पद सम्हालेपछि देशको समकालीन राजनीतिमा नयाँ बहस सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रपति कार्यालय शीतल निवास मा आयोजित विशेष समारोहमा बालेनलाई प्रधानमन्त्री पदको शपथ गराएका हुन् । शपथ ग्रहणको समय दिउँसो १२ बजेर ३४ मिनेटका लागि तय गरिएको थियो ।
वैदिक परम्पराअनुसार शपथ ग्रहण
यसपटकको शपथ ग्रहण सामान्य औपचारिक शैलीभन्दा फरक रहेको बताइएको छ । स्रोतका अनुसार हिन्दू वैदिक परम्पराअनुसार मङ्गल उच्चारण, वैदिक मन्त्र र अन्य धार्मिक अनुष्ठानपछि बालेनले प्रधानमन्त्री पदको शपथ लिएका हुन् । यसअघि नेपालमा प्रधानमन्त्रीको शपथ ग्रहणका क्रममा यस प्रकारको धार्मिक विधि औपचारिक रूपमा समावेश गर्ने परम्परा नरहेको भन्दै यसले नयाँ बहस जन्माएको छ ।
राजनीतिक वृत्तमा भने यसलाई बालेनको व्यक्तिगत इच्छासँग जोडेर पनि हेरिएको छ । छिमेकी भारत मा हिन्दुत्वको नारासहित अघि बढेका नरेन्द्र मोदी को राजनीतिक शैलीसँग तुलना गर्दै कतिपयले नयाँ सरकारको आगामी दिशाबारे अनुमान गर्न थालेका छन् ।
धर्मनिरपेक्ष राज्य र नयाँ राजनीतिक सन्देश
नेपाल र भारत दुवै देशमा हिन्दू धर्मावलम्बीको बहुलता रहे पनि दुवै देशलाई संविधानले धर्मनिरपेक्ष राष्ट्रका रूपमा परिभाषित गरेको छ । तर नेपालमा पछिल्ला वर्षहरूमा पुनः हिन्दू राष्ट्र बनाइनुपर्ने माग निरन्तर उठ्दै आएको छ । आजको शपथ ग्रहण समारोहमा धार्मिक विधिको प्रयोग भएपछि धर्म, राजनीति र संविधानको सम्बन्धबारे पुनः बहस सुरु भएको छ ।
मधेसी पृष्ठभूमिका प्रधानमन्त्रीप्रति बढ्दो अपेक्षा
बालेन मधेसी पृष्ठभूमिबाट प्रधानमन्त्री बन्ने पहिलो नेता भएको भन्दै मधेस क्षेत्रमा यसलाई ऐतिहासिक घटनाका रूपमा हेरिएको छ । यसलाई मधेसी समुदायका लागि गौरवको विषयका रूपमा लिइए पनि मधेससँग सम्बन्धित मुद्दा अब कसरी सम्बोधन हुन्छ भन्ने प्रश्न पनि उस्तै रूपमा उठिरहेको छ ।
विशेषगरी समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था, संघीय संरचना र प्रदेशको अधिकार सुदृढ गर्ने विषयहरूमा नयाँ सरकारको धारणा कस्तो हुन्छ भन्ने चासो बढेको छ । मधेसवादी दलहरूले विगतदेखि उठाउँदै आएका प्रतिनिधित्व, अधिकार र संविधान संशोधनसँग सम्बन्धित मुद्दाहरू अब नयाँ सरकारका लागि सबैभन्दा ठूलो राजनीतिक परीक्षा बन्न सक्ने विश्लेषकहरूको भनाइ छ ।
सुशासन, रोजगारी र विकास मुख्य चुनौती
नयाँ सरकारसँग जनताले सबैभन्दा ठूलो अपेक्षा सुशासन स्थापना, युवालाई रोजगारी सिर्जना र तीव्र आर्थिक विकासको रहेको छ । विशेषगरी मधेस क्षेत्रबाट रास्वपाले ठूलो मत प्राप्त गरेको भन्दै त्यहाँका मतदाताको अपेक्षा पनि उच्च रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
अब नयाँ प्रधानमन्त्रीका रूपमा बालेनले प्रशासन सुधार, मन्त्रालय पुनर्संरचना, सुशासन र जनअपेक्षाअनुसार काम गरेर आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्नुपर्ने चुनौती रहेको छ । राम नवमीकै दिन प्रधानमन्त्री पद सम्हालेपछि यसलाई नयाँ राजनीतिक सन्देश र नयाँ सुरुवातका रूपमा पनि हेरिएको छ ।
को–को बने मन्त्री ?
नयाँ मन्त्रिपरिषद् पनि शुक्रबार नै गठन गरिएको छ । प्रारम्भिक सूची अनुसार स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृह मन्त्री र शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन् ।
त्यस्तै सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्री, खड्कराज पौडेल पर्यटन मन्त्री, सस्मित पोखरेल शिक्षा मन्त्री, निशा मेहता स्वास्थ्य मन्त्री, विक्रम तिमिल्सिना सञ्चार मन्त्री बनेका छन् ।
यसैगरी प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह श्रम मन्त्री, सोविता गौतम कानुन मन्त्री, गीता चौधरी कृषि मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री बनेका छन् ।
अन्तमा पहिलो प्रधानमन्त्री बालेनलाई धेरै धेरै बधाई र शुभकामना ।