धनुषा, सबैला । सबैला नगरपालिका वडा नं. ९ मा आयोजित बालविवाह अन्त्य सम्बन्धी प्रतिबद्धता संवाद कार्यक्रममा मुस्लिम सहितका धार्मिक समुदायले बालविवाह न्यूनीकरणका लागि दृढ प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा सहभागी मुस्लिम धर्मगुरु तथा समुदायका अगुवाहरूले अब कुनै पनि बालिकाको सपना अधुरो हुन नदिने अठोट व्यक्त गरेका छन्।
प्लान इन्टरनेशनल नेपालको साझेदारी, जानकी महिला जागरण समाज, वडा कार्यालय तथा रामजानकी नमूना माध्यमिक विद्यालयको संयुक्त आयोजनमा सम्पन्न कार्यक्रममा विभिन्न समुदायका धर्मगुरु, राजनीतिक प्रतिनिधि, शिक्षक, विद्यार्थी, किशोरी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा मुस्लिम समुदायका अगुवाहरूले कम उमेरमै विवाहका कारण धेरै बालिकाले शिक्षा गुमाउनु परेको, स्वास्थ्य समस्या भोग्नुपरेको र आफ्ना सपना त्याग्न बाध्य भएको पीडादायी यथार्थ प्रस्तुत गरेका थिए। उनीहरूले बालविवाह केवल कानुनी अपराध मात्र नभई बालबालिकाको भविष्य खोस्ने सामाजिक अन्याय भएको बताएका थिए।
एक मुस्लिम धर्मगुरुले कार्यक्रममा भावुक हुँदै भने, “हामीले अब आफ्ना छोरीहरूको आँसु देख्न चाहँदैनौं। उनीहरूलाई विद्यालय, सम्मान र उज्ज्वल भविष्य चाहिन्छ, समयअघि विवाह होइन।” उक्त अभिव्यक्तिपछि कार्यक्रममा केही समय भावुक वातावरण समेत बनेको थियो।
समुदायका प्रतिनिधिहरूले अब मस्जिद, मदरसा तथा सामाजिक भेलाहरूबाट बालविवाह विरुद्ध जनचेतना फैलाउने, अभिभावकलाई सम्झाउने तथा किशोरीहरूको शिक्षा निरन्तरता सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा सहभागीहरूले “बालविवाह मुक्त समाज” निर्माणका लागि सामूहिक रूपमा अघि बढ्ने अठोटसमेत जनाएका थिए।
छलफलमा सानै उमेरमा विवाह गर्दा मातृ तथा शिशु मृत्युदर बढ्ने, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्ने तथा गरिबी र अशिक्षाको चक्र झन् गहिरिने विषयमा विशेष चिन्ता व्यक्त गरिएको थियो।
वडा अध्यक्ष मनीष कुमार रायले बालविवाह अन्त्यका लागि सबै समुदायको एकता आवश्यक रहेको बताउँदै वडा कार्यालयले विवाह दर्तामा उमेर प्रमाणीकरणलाई अझ कडाइका साथ लागू गर्ने जानकारी दिए। उनले वडा नं. ९ लाई छिट्टै “बालविवाह मुक्त वडा” घोषणा गर्ने लक्ष्य रहेको समेत उल्लेख गरे।
कार्यक्रम अन्त्यमा सहभागीहरूले बालबालिकाको अधिकार रक्षा गर्दै सुरक्षित, शिक्षित र सम्मानित समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।
