जनकपुरधाम, जेठ २३ — धनुषाको सबैला नगरपालिका वडा नं. १० मा बालविवाह न्यूनीकरण तथा बालअधिकार संरक्षणका विषयमा वडा स्तरीय सरोकारवाला छलफल कार्यक्रम सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजको आयोजनामा तथा सबैला नगरपालिका र वडा नं. १० को समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष राजकुमार साह, वडा सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, किशोरी समूहका सदस्यहरू, अभिभावकहरू तथा विभिन्न समुदायका प्रतिनिधिहरूसहित करिब १०० जनाको सहभागिता रहेको थियो।
जानकी महिला जागरण समाजद्वारा सञ्चालित ‘सशक्त बालिका परियोजना (GSS)’ अन्तर्गत विगत दुई वर्षदेखि बालविवाह न्यूनीकरण, किशोरी सशक्तीकरण तथा बालअधिकार प्रवर्द्धनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। सोही अभियानअन्तर्गत समुदायस्तरमा बालविवाहको अवस्था, कारण तथा यसको न्यूनीकरणका उपायबारे छलफल गरिएको हो।
छलफलका क्रममा “समुदायमा बालविवाह किन भइरहेको छ ?” भन्ने मूल प्रश्नलाई केन्द्रमा राखी सहभागीहरूले आफ्ना अनुभव र धारणा व्यक्त गरेका थिए। विशेषगरी गरिबी, अशिक्षा, सामाजिक परम्परा, लैङ्गिक विभेद तथा चेतनाको अभाव बालविवाहका प्रमुख कारणका रूपमा औंल्याइएको थियो।
कार्यक्रममा बालविवाहसम्बन्धी विद्यमान कानुनी व्यवस्था, बालविवाह भएमा उजुरी दिन सकिने निकाय तथा उपलब्ध निःशुल्क टेलिफोन सेवाबारे जानकारी गराइएको थियो। साथै बालविवाह गराउने, सहयोग गर्ने वा त्यसमा संलग्न हुने व्यक्तिलाई कानुनअनुसार हुने दण्ड सजायबारे समेत सहभागीहरूलाई सचेत गराइएको थियो।
स्वास्थ्यकर्मीहरूले बालविवाहका कारण किशोरी आमाहरूमा हुने स्वास्थ्य जोखिम, मातृ तथा शिशु मृत्युदरमा वृद्धि, कुपोषण, मानसिक तनाव तथा प्रसूति सम्बन्धी जटिलताबारे जानकारी दिएका थिए। कम उमेरमा गर्भधारण गर्दा सामान्य प्रसूति गराउन कठिनाइ हुने तथा स्वास्थ्य संस्थाहरूमा जटिल अवस्थाका घटनाहरू बढ्दै गएको विषयमा पनि चर्चा गरिएको थियो।
कार्यक्रमको समापनमा सहभागीहरूले आफ्ना समुदायमा बालविवाह हुन नदिन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। बालविवाहमुक्त समाज निर्माणका लागि परिवार, समुदाय, विद्यालय, स्थानीय सरकार तथा नागरिक समाजबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
वडा अध्यक्ष राजकुमार साहले वडा कार्यालय बालविवाह नियन्त्रणका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै विवाह दर्ता प्रक्रियामा उमेर प्रमाणीकरणलाई कडाइका साथ लागू गरिने जानकारी दिए। उनले बाहिरी क्षेत्रबाट आएका विवाहका घटनामा समेत जन्मदर्ता प्रमाणपत्रको आधारमा २० वर्ष उमेर पूरा भएको सुनिश्चित गरेपछि मात्र विवाह दर्ता गरिने स्पष्ट पारे।

“बालविवाह रोक्न समुदायको साथ र सहभागिता आवश्यक छ। हामी सबैको सहकार्यमा वडा नं. १० लाई छिट्टै बालविवाहमुक्त वडा घोषणा गर्ने लक्ष्य लिएका छौं,” अध्यक्ष साहले बताए।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले बालविवाह अन्त्यका लागि सामूहिक प्रयासलाई अझ प्रभावकारी बनाउने तथा किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्य सुनिश्चित गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
