काठमाडौं — सवारी साधनमा प्रयोग गरिएका कालो सिसा (टिन्टेड ग्लास) हटाउने अभियान तीव्र बनाइरहेको ट्राफिक प्रहरीले गृहमन्त्री र गृहसचिव चढ्ने सरकारी सवारीबाट समेत कालो सिसा हटाएको छ।
ट्राफिक नियम कार्यान्वयनमा सबैलाई समान व्यवहार गर्ने नीति अनुसार विशेष निगरानीका क्रममा गृह मन्त्रालयसँग सम्बन्धित सवारी साधनमा जडान गरिएका कालो सिसा हटाइएको जनाइएको छ।
हाल काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले अवैध रूपमा जडान गरिएका कालो सिसाविरुद्ध निगरानी बढाएको छ। प्रहरीले यस्ता सिसाका कारण सवारीभित्रको गतिविधि बाहिरबाट स्पष्ट नदेखिने हुँदा सुरक्षा चुनौती तथा गैरकानुनी गतिविधिको जोखिम बढ्न सक्ने जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही तथा अनुगमन अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछ।
