बुटवल ।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ।
शुक्रबार साँझ बुटवल पुग्नुभएकी प्रधानमन्त्री कार्कीले शनिबार बिहान लुम्बिनी प्रदेशमा आयोजित सुरक्षा निकायका प्रमुखहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै निर्वाचनलाई सरकारको प्रमुख कार्यादेशका रूपमा लिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “अहिले सरकारको मुख्य कार्यादेश निर्वाचन भएकाले यसैमा ध्यान केन्द्रित गर्न आग्रह गर्न चाहन्छु।”
बैठकमा प्रधानमन्त्री कार्कीले प्रदेशभित्रको समग्र सुरक्षा अवस्था, तयारी र चुनौतीबारे जानकारी लिनुभएको थियो। सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो निकायको तयारी र समन्वयबारे विवरण प्रस्तुत गरेका थिए।
उहाँले आगामी फागु पूर्णिमा (होली) नजिकिँदै गरेको र हिमाली क्षेत्र, विशेषगरी रुकुमपूर्वमा सम्भावित हिमपातका कारण उत्पन्न हुन सक्ने चुनौतीप्रति पनि ध्यानाकर्षण गराउनुभयो। प्राकृतिक विपद् वा मौसमी अवरोधका कारण निर्वाचन प्रक्रियामा असर नपरोस् भन्नेतर्फ सतर्क रहन निर्देशन दिइएको छ।

प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएपछि आगामी सुरक्षा रणनीति र सरकारको योजनाबारे स्पष्ट मार्गदर्शन गर्नुभएको हो।
सरकारले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्ने तयारी तीव्र बनाइरहेको छ। यसका लागि प्रदेशस्तरमा समन्वय र तयारीलाई थप सुदृढ बनाइने अपेक्षा गरिएको छ।