निराधार आरोपबारे थपलियाको खण्डन: आवश्यक परे अडियोको फोरेन्सिक परीक्षण गराउने


काठमाडौँ ।
रातोपाटी अनलाइनमा प्रकाशित समाचारप्रति दिनेशचन्द्र थपलिया ले गम्भीर ध्यानाकर्षण जनाउँदै आरोपहरू पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित रहेको बताएका छन्।
थपलियाले जारी गरेको प्रेस विज्ञप्तिमा आफू डा. शेखर कोइराला का स्वकीय सचिवको हैसियतमा विभिन्न राजनीतिक गतिविधिमा संलग्न भई पार्टी सभापति गगनकुमार थापा लाई निर्वाचनमा हराउन षड्यन्त्र गरेको भन्ने आरोप निराधार भएको स्पष्ट पारेका छन्।


उनले जिम्मेवार नेताको स्वकीय सचिवका रूपमा आफ्नो भूमिका सधैं संगठनको मूल्य, मान्यता, अनुशासन र नेतृत्वप्रतिको निष्ठामा आधारित रहेको उल्लेख गर्दै पार्टी र नेतृत्वको प्रतिष्ठामा आँच आउने कुनै गतिविधिमा संलग्न हुनु त परको कुरा, त्यस्तो सोचसमेत नराखेको दाबी गरेका छन्।
विज्ञप्तिमा समाचारमा उल्लेख गरिएको व्यक्तिहरूबारे आफूलाई कुनै जानकारी नभएको र उपेन्द्र कुशवाहासँग कुनै संवाद नभएको दाबी गरिएको छ। साथै, अमरेश सिंहसँग पनि उक्त विषयमा कुनै भेट वा संवाद नभएको उनले स्पष्ट पारेका छन्।
थपलियाले अपुष्ट र भ्रामक समाचारले व्यक्तिगत प्रतिष्ठामात्र नभई संगठन, पार्टी र लोकतान्त्रिक अभ्यासमै आघात पुग्ने उल्लेख गरेका छन्। राष्ट्र संवेदनशील चरणमा रहेको अवस्थामा यस्ता प्रचारले जनविश्वास कमजोर पार्ने र संगठनलाई बदनाम गर्ने काम गर्ने उनको भनाइ छ।
उनले सम्बन्धित सरोकारवाला निकायसँग परामर्श गरिरहेको जनाउँदै आवश्यक परे प्रकाशित अडियोको स्वतन्त्र फोरेन्सिक परीक्षण गराउने तथा आफ्नो प्रतिष्ठा र सत्यको रक्षा गर्न कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।
अन्त्यमा उनले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनतालाई अपुष्ट समाचारप्रति सचेत रहन र तथ्यमा आधारित सूचनामात्र विश्वास गर्न आग्रह गरेका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *