गगन थापाले राजीनामा दिनु उपयुक्त छैन : केन्द्रीय सदस्य शाह


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर–१ का उम्मेदवार राम पल्टन शाहले पार्टी सभापति गगन कुमार थापाले अहिलेको अवस्थामा राजीनामा दिनु उपयुक्त नहुने बताएका छन्। उनले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेसले सधैं परिवर्तन, लोकतन्त्र र जनअधिकारको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र सुदृढ गर्न र संघीय व्यवस्थालाई संस्थागत बनाउन जिम्मेवार तथा दूरदर्शी नेतृत्वको आवश्यकता अझ बढेको उनले बताएका छन्।
शाहले विशेष महाधिवेशनमार्फत गगन कुमार थापा सभापतिमा निर्वाचित हुनु समयको माग र ऐतिहासिक आवश्यकताको परिणाम भएको उल्लेख गरेका छन्। भदौ २३ र २४ गतेको आन्दोलनपछि देशमा नयाँ राजनीतिक संस्कार, नयाँ नेतृत्व र नयाँ सोचको माग तीव्र रूपमा उठेको र त्यसको परिणामस्वरूप युवा नेतृत्वलाई जिम्मेवारी दिइएको उनको भनाइ छ।
उनले देशभरि परिवारवाद, नातावाद र कृपावादका आरोप उठिरहेका बेला भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना तथा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको माग बलियो रूपमा उठेको स्मरण गराएका छन्। यस्तो अवस्थामा स्वच्छ छवि भएका र लामो समयदेखि परिवर्तनको पक्षमा आवाज उठाउँदै आएका युवालाई नेतृत्वमा ल्याउनु अपरिहार्य भएको उनले बताए।
शाहका अनुसार गगन कुमार थापा विद्यार्थी राजनीतिदेखि नै लोकतन्त्र, सुशासन र परिवर्तनका पक्षधर नेताका रूपमा स्थापित छन्। विभिन्न जनआन्दोलनहरूमा सक्रिय सहभागिता जनाउँदै युवाहरूको नेतृत्व गरेका कारण उनले लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउन भूमिका खेलेको उल्लेख गरिएको छ।


२०८२ साल फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षित परिणाम प्राप्त गर्न नसके पनि पार्टीले आफ्नो राजनीतिक उपस्थिति कायम राख्न सफल भएको शाहले बताएका छन्। उनका अनुसार यदि नेतृत्व परिवर्तन नभएको भए पार्टीको अवस्था अझ कमजोर हुन सक्ने सम्भावना पनि थियो।
उनले चुनावी सफलता वा असफलता एउटै व्यक्तिको कारणले मात्र तय नहुने स्पष्ट पारेका छन्। चुनाव परिणाम सामूहिक नेतृत्व, संगठनको अवस्था, आन्तरिक एकता, रणनीति र समग्र राजनीतिक परिस्थितिसँग सम्बन्धित हुने भएकाले सम्पूर्ण जिम्मेवारी एउटै व्यक्तिमा थोपर्नु न्यायोचित नहुने उनको भनाइ छ।
विज्ञप्तिमा नयाँ नेतृत्वलाई संगठन सुदृढ गर्न, नीति निर्माण गर्न र पार्टीलाई नयाँ ढाँचामा अघि बढाउन समय आवश्यक हुने पनि उल्लेख गरिएको छ। सभापति थापाले नेतृत्व सम्हालेपछि पार्टीलाई पूर्ण रूपमा रूपान्तरण गर्ने पर्याप्त समय नपाएको र निर्वाचनका क्रममा पार्टीभित्र आन्तरिक समन्वय तथा एकताको कमी पनि देखिएको शाहले बताएका छन्।
यस सन्दर्भमा उनले युवा नेता नयन सिंह महरको उदाहरण उल्लेख गरेका छन्। उनका अनुसार पूर्व सभापति शेरबहादुर देउवाले सात पटक चुनाव लड्दा महरले प्रचारप्रसार र संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए। तर यसपटक महर स्वयं उम्मेदवार हुँदा अपेक्षित सहयोग प्राप्त हुन नसकेको उनले बताएका छन्। यस्तो प्रवृत्ति विभिन्न निर्वाचन क्षेत्रमा देखिएको भन्दै उनले पार्टीभित्र अझ सुदृढ एकता आवश्यक रहेको बताएका छन्।
शाहले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व आएपछि केही पुराना नेताहरूमा असन्तुष्टि हुनु स्वाभाविक भए पनि पार्टीको दीर्घकालीन हितका लागि यस्तो भावना त्यागेर संगठनलाई एकताबद्ध बनाउनु आवश्यक रहेको बताएका छन्। वरिष्ठ नेताहरूको अनुभव र युवा नेतृत्वको ऊर्जा मिलेर मात्र पार्टीलाई सशक्त बनाउन सकिने उनको भनाइ छ।
उनले अहिलेको अवस्थामा सभापति थापाले राजीनामा दिए पार्टीभित्र शक्ति शून्यता उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। यसले संगठनात्मक स्थायित्व कमजोर बनाउने र अनावश्यक विभाजन सिर्जना गर्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन्।
शाहले गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस “नेपाली कांग्रेस 2.0” का रूपमा रूपान्तरण हुने विश्वास व्यक्त गरेका छन्। उनले पारदर्शिता, उत्तरदायित्व, समावेशिता र युवाहरूको सक्रिय सहभागितामा आधारित नयाँ राजनीतिक संस्कार विकास गरिने बताए।
यसैबीच उनले आफूले पनि २०८२ सालको आम निर्वाचनपछि नयाँ ढंगले जनतासँग संवादको प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्। सामान्यतया निर्वाचनमा पराजित भएपछि उम्मेदवारहरूले औपचारिक सन्देशमार्फत धन्यवाद दिने चलन भए पनि आफूले प्रत्यक्ष रूपमा मतदाताहरूबीच पुगेर धन्यवाद दिने अभियान सुरु गरेको बताएका छन्।
शाहले हाल धनुषा क्षेत्र नम्बर–१ का विभिन्न गाउँ, बस्ती र समुदायमा पुगेर मतदातासँग भेटघाट गर्दै उनीहरूको अपेक्षा, सुझाव र आवश्यकताबारे जानकारी लिइरहेको बताए। चुनावमा विजयी नभए पनि जनताप्रति आफ्नो दायित्व समाप्त नभएको उल्लेख गर्दै उनले जनताको समस्या समाधानका लागि विभिन्न तहमा वकालत गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *