जनकपुरधाम, सबैलामा नगर स्तरिय प्रारम्भिक बाल विकास समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यस बैठकको मुख्य उद्देश्य नगरपालिकामा प्रारम्भिक बाल विकाससँग सम्बन्धित गतिविधिहरूको प्रगति समिक्षा गर्नु र भविष्यका रणनीतिहरू निर्माण गर्नु रहेको छ।
बैठकको आयोजना जानकी महिला जागरण समाजले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सशक्त बालिका परियोजना अन्तर्गत भएको हो। उक्त परियोजना विशेष गरी प्रारम्भिक बाल विकास र बाल संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ। कार्यक्रममा परियोजनाबाट हालसम्म सञ्चालन भएका गतिविधिहरू, उपलब्धिहरू र भविष्यका योजनाहरूको प्रस्तुति गरिएको थियो।
कार्यक्रम संयोजक निकिता सिंह यादवले परियोजनाले नगरपालिकामा सञ्चालन गरिरहेका कार्यक्रम र बैठकको उद्देश्यबारे विस्तृत प्रस्तुति राखेका थिए। उनले परियोजनाले बालबालिकाको समग्र विकास र सुरक्षामा पुर्याएको योगदान, समुदायमा बालिका सशक्तिकरणका लागि गरिएका पहल, र भविष्यमा लागू गरिने रणनीतिहरूका बारेमा जानकारी दिए।
बैठकमा सहभागीहरूले बाल विकाससँग सम्बन्धित रणनीति निर्माण, समस्या समाधान र कार्यक्रमको प्रभावकारिता बढाउने उपायबारे आफ्ना धारणा र जिज्ञासाहरू राखेका थिए। यस क्रममा सहभागीहरूले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र संरक्षणसँग सम्बन्धित विभिन्न चुनौतीहरूबारे पनि छलफल गरेका थिए।
कार्यक्रममा सवैला नगरपालिकाका प्रमुख, कार्यपालिका सदस्य, नगरपालिकाका विषयगत शाखा प्रमुखहरू, साथै जानकी महिला जागरण समाजका परियोजनामा आवद्ध कर्मचारीहरू पनि उपस्थित थिए। यसबाट कार्यक्रमलाई थप प्रभावकारी र समग्र दृष्टिकोणबाट सबल भएको बुझिएको छ।
छलफलको क्रममा समिति सदस्य विरेन्द्रलाल कर्णले पालिकाको प्रारम्भिक बाल विकासको रणनीति निर्माण र कार्यान्वयनमा आएको प्रगतिप्रति चासो व्यक्त गरेका थिए। उनले कार्यक्रमले बालबालिकाको दीर्घकालीन विकासमा कस्तो योगदान पुर्याउनेछ र आगामी कदमहरूमा कुन सुधार गर्न सकिन्छ भन्ने विषयमा आफ्नो सुझावहरू प्रस्तुत गरे ।
स्वास्थ्य शाखा संयोजक गुलेश्वर गरेरीले परियोजनाको कारण नगरपालिकाका स्वास्थ्य सूचकहरूमा आएको सुधारबारे जानकारी दिए। उनले बालबालिकाको स्वास्थ्य अवस्था सुदृढीकरण, पोषण स्तर र स्वास्थ्य सेवामा पहुँच जस्ता विषयमा भएको सुधारका तथ्यांक प्रस्तुत गरे।
कार्यकारी प्रमुख तथा समिती सदस्य सचिव राम देव यादवले नगरपालिकामा प्रारम्भिक बाल विकासका गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्न परियोजनाले देखाएको योगदानको प्रशंसा गर्दै, भविष्यमा यसले नगरपालिकाका बालबालिकाको विकासमा स्थायी आधार तयार पार्ने अपेक्षा व्यक्त गरे। उनले सहभागीहरूलाई कार्यक्रम सफल बनाउन शुभकामना पनि दिए।
बैठकले नगरपालिकामा प्रारम्भिक बाल विकास कार्यक्रमलाई थप सशक्त बनाउने, रणनीतिहरू स्पष्ट गर्ने र समुदायसँगको समन्वयलाई मजबुत बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको विश्लेषकहरूले बताएका छन्। यस प्रकारको अन्तरक्रियात्मक बैठकले बालबालिकाको समग्र विकास र सुरक्षा सुनिश्चित गर्न नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
