प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपको प्रयास तत्काल रोक्न पत्रकार महासंघको माग


काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप भएको भन्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ।
शाखाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हालै जारी गरिएको परिपत्रप्रति गम्भीर आपत्ति जनाइएको छ। उक्त परिपत्रमार्फत सरकारी निकायहरूले सार्वजनिक खरिदसम्बन्धी सूचना केवल सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको उल्लेख गरिएको छ।
महासंघका अनुसार यस्तो निर्णयले लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्नुका साथै निजी तथा स्वतन्त्र सञ्चार माध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने उद्देश्य राखेको देखिन्छ। यसले स्वतन्त्र मिडियामाथि नियन्त्रण कायम गर्ने र अन्ततः बन्द गराउने दिशातर्फ लैजाने खतरा रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा सरकारद्वारा सूचना र विज्ञापनलाई आफ्नो नियन्त्रणभित्र सीमित गर्ने प्रयासलाई जनताको सूचनाको अधिकारमाथिको आक्रमणका रूपमा व्याख्या गरिएको छ। साथै, यस्तो कदम बहुलवाद र लोकतान्त्रिक अभ्यासमाथि प्रत्यक्ष प्रहार हुने महासंघको ठहर छ।
महासंघले चेतावनी दिँदै उक्त निर्णय तत्काल बिना सर्त फिर्ता नभए देशभरका पत्रकारहरू आन्दोलनमा उत्रिने जनाएको छ। साथै, प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेपविरुद्ध सशक्त प्रतिरोध गरिने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले वहन गर्नुपर्ने बताइएको छ।
“प्रेसमाथिको हस्तक्षेप सह्य छैन, प्रतिरोध अनिवार्य छ,” विज्ञप्तिमा भनिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *