जनकपुरधाम, वैशाख २७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहा जिल्ला कार्यसमितिले सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको सानो भन्सार कार्यालयलाई स्थानान्तरण नगर्न सरकारसँग आग्रह गरेको छ।जिल्ला सभापति हरि प्रसाद मैनालीद्वारा जारी ध्यानाकर्षण पत्रमा नेपाल सरकारको निर्णयअनुसार बरियारपट्टी भन्सार कार्यालय विस्थापित गर्ने तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।पत्रमा बरियारपट्टी भन्सार कार्यालयलाई विस्थापित गर्नुको सट्टा आधुनिक सेवा–सुविधासम्पन्न भन्सार कार्यालयका रूपमा विकास गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। साथै जिल्लाका निर्वाचित संघीय सांसदहरू — बलराम गुप्ता, शिवशंकर यादव, डा. शम्भु कुमार यादव, इ. तपेश्वर यादव, डा. ललिता कुमारी शाह तथा पुरुषोत्तम सुभाष यादवलाई राज्य र जनताको हितअनुकूल पहल गर्न आग्रह गरिएको छ।रास्वपा सिरहाले सरकारको निर्णयविरुद्ध पार्टीका सदस्य तथा पदाधिकारीलाई कुनै किसिमको विरोध प्रदर्शन वा आन्दोलन नगर्न समेत अनुरोध गरेको छ।पार्टीले संवाद र कानुनी प्रक्रियामार्फत समस्या समाधानको पक्षमा रहेको जनाएको छ।
बरियारपट्टी भन्सार कार्यालय स्थानान्तरण नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी सिरहाको आग्रह