काठमाडौं । सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
संवत् २०८३ साल वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते सोमबार दिउँसो ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न तथा त्यसका लागि सांसदहरूको उपस्थिति आह्वान गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री Sasmit Pokharel ले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुलहरूलाई पदमुक्त गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ लाई पनि अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सरकारले यी निर्णयहरूले अन्तर्राष्ट्रिय श्रम मापदण्ड तथा श्रम निरीक्षण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।