रौतहट— भारत सरकारको आर्थिक सहयोगमा रौतहटको राजदेवी नगरपालिकामा विद्यालय तथा पुस्तकालय भवन निर्माणको शिलान्यास गरिएको छ।
भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत देव सहाय मीणा तथा राजदेवी नगरपालिकाका मेयर भिखारी प्रसाद यादवले बुधबार संयुक्त रूपमा राजदेवी नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालयमा निर्माण हुने विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास गरेका हुन्।
महावाणिज्य दूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त परियोजना भारत सरकारको करिब नेरु २ करोड ८४ लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। परियोजनाअन्तर्गत दुई तले भवन, आठवटा कक्षाकोठा, छात्र तथा छात्राका लागि छुट्टाछुट्टै शौचालय, सेप्टिक ट्याङ्की, खानेपानी तथा सरसफाइका आवश्यक संरचनालगायतका पूर्वाधार निर्माण गरिनेछ।

यो परियोजना भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project – HICDP) अन्तर्गत सञ्चालन हुन लागेको हो। निर्माण कार्य राजदेवी नगरपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।
शिलान्यास कार्यक्रममा राजदेवी नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, स्थानीय बासिन्दा तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रको विकासमा परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
राजदेवी नगरपालिकाका मेयर भिखारी प्रसाद यादवले स्थानीय विकास तथा शैक्षिक पूर्वाधार विस्तारमा भारत सरकारले प्रदान गर्दै आएको सहयोगको प्रशंसा गरे।
प्रेस विज्ञप्तिमा भारत र नेपालबीचको विकास साझेदारी तथा द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउन यस्ता परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ।