काठमाडौं, २३ माघ –
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले पार्टीको कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल एमाले, माओवादी केन्द्र र नयाँ राजनीतिक संगठन रास्वपा प्रति व्यंग्यपूर्ण टिप्पणी गरेका छन्।
ललितपुरमा आयोजित कार्यक्रममा शर्माले रास्वपाले प्रधानमन्त्री ‘करारमा नियुक्त’ गर्ने योजना बारे टिप्पणी गर्दै त्यसलाई अनौठो र अव्यवहारिक भनेका थिए। उनले भने, “करारमा कर्मचारी नियुक्ति भनेको त सुन्नमा आइन्छ, तर प्रधानमन्त्रीलाई ‘करारमा बनाउने’ कुरा त पहिलो पटक सुन्न परेको छ।”
शर्माले वर्तमान राजनीतिक दलहरुलाई जनताकै विश्वास जित्न असफल रहेको आरोप लगाउँदै, जेन–जी आन्दोलनपछि कांग्रेस बाहेक कुनै पनि दल जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताए।
एमालेको नेतृत्वको आलोचना गर्दै उनले भने, पार्टीले पहिले दुईपटक मात्र अध्यक्ष बन्ने व्यवस्था भित्र्याएको भए पनि अहिले तीनपटक अध्यक्ष बन्न मिल्ने गरी नियम परिवर्तन गरेको छ। माओवादी समुहलाई नाम मात्रको परिवर्तन र थुप्रै मोर्चा बनाएर वास्तविक परिवर्तनको दावी हुन नसकेको पनि उनले बताए।
शर्माले नेपाली कांग्रेसले नेतृत्व पुस्तान्तरणमार्फत युवा नेतृत्वलाई अघि ल्याएको र ५० वर्षमुनिका नेतृत्वले देशका जटिल समस्यामा नयाँ ऊर्जा र विश्लेषण ल्याएको बताए।
