मकवानपुर–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार सन्तोष विष्ट ले आगामी प्रतिनिधिसभा निर्वाचनमा गाँजा खेतीलाई वैधानिक बनाउने एजेन्डालाई प्रमुख नारा बनाएर चुनावी अभियान अघि बढाएका छन्। उनले आफ्नो एजेन्डा मतदातासमक्ष प्रस्तुत गर्दै किसानहरूको समस्या समाधान र सुशासन कायम गर्ने अठोट व्यक्त गरे।
सन्तोष विष्टले गाँजालाई कानुनी दायरामा ल्याइ खुला गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनका अनुसार, यस क्षेत्रमा धेरै किसानहरू गाँजा खेतीमा संलग्न छन् तर हाल यसलाई प्रतिबन्धित लागुऔषधको रूपमा हेर्नाले उनीहरूलाई समस्यामा पारिरहेको छ। उनी जनतामाझ भएको यस व्यथा अन्त्य गर्न चाहन्छन्।

उनी हाल जेलमा राखिएका गाँजा सम्बन्धी अभियोगमा परेकाहरूलाई सम्मानका साथ रिहा गर्नुपर्ने माग पनि गरेका छन्।
सन्तोष विष्टले भ्रष्टाचार, कुशासन अन्त्य र सुशासन कायम गर्ने विषयमा पनि जोड दिएका छन्। आफ्नो पार्टीको नीति अनुसार, देशको वर्तमान राजनीतिक–आर्थिक अवस्था सुधार्ने र जनताको अपेक्षा अनुरूप शासन सञ्चालन गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन्।
विष्टका यी योजनाहरू आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रचारको मुख्य हिस्सा बन्न पुगेका छन् ।