सर्लाही — सर्लाहीको सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालमा औषधि व्यवस्थापन कमजोर हुँदा बिरामीले आवश्यक औषधि नपाउने समस्या गम्भीर बन्दै गएको छ। अस्पतालमा आपूर्ति भएका औषधि समयमै वितरण नहुँदा म्याद गुज्रिएको अवस्थामा फेला परेका छन् भने ती औषधि अस्पताल परिसरमै नष्ट गरिएको पाइएको छ।
अस्पतालको गोदाममा लामो समयसम्म थन्किएका औषधि प्रयोगमा नआउँदै म्याद सकिएपछि जलाएर नष्ट गरिएको स्थानीयले बताएका छन्। यसैबीच अस्पतालमा उपचारका लागि आएका बिरामीहरू भने आवश्यक औषधि नपाएर बाहिरका निजी मेडिकल पसलबाट महँगो मूल्यमा औषधि किन्न बाध्य भएका छन्।
अस्पताल प्रशासनका अनुसार औषधि भण्डारण र वितरणमा कमजोरी रहँदा यस्तो अवस्था सिर्जना भएको हो। हालै कार्यभार सम्हालेका अस्पताल प्रमुखले म्याद सकिएका औषधि आफ्नो कार्यकालअघिकै भएको बताएका छन्। औषधि नष्ट गर्ने विषयमा आधिकारिक निर्णय नभएको र यदि जिम्मेवारी विपरीत काम भएको पुष्टि भए कारबाही गरिने पनि उनले बताएका छन्।
तर सेवाग्राहीहरूले भने औषधि खरिद, भण्डारण र वितरण प्रक्रियामा पारदर्शिता नदेखिएको गुनासो गरेका छन्। अस्पतालमा निःशुल्क पाउनुपर्ने औषधि नपाउँदा सामान्य आर्थिक अवस्थाका बिरामीहरू थप मारमा परेका छन्। कतिपय बिरामी उपचारका लागि अस्पताल आए पनि औषधि नपाएर दिनौंसम्म अस्पतालमै कुर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
स्थानीय बासिन्दा र सरोकारवालाहरूले सरकारी अस्पतालमा हुने औषधि व्यवस्थापनको नियमित अनुगमन गर्न र दोषीमाथि जिम्मेवारी तय गर्न माग गरेका छन्। उनीहरूका अनुसार समयमै सुधार नभए यस्ता समस्या दोहोरिरहने र सरकारी स्वास्थ्य सेवाप्रति जनविश्वास कमजोर हुँदै जाने खतरा रहेको छ।

